तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा मल बुझ्ने काम सुरु : अबको दुई साताभित्र नेपाल आइपुग्ने

काठमाडौँ । बङ्गलादेशबाट ल्याउन लागिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । मल ल्याउनका लागि मल बुझ्ने काम आजबाट सुरु भएको छ । नेपालमा मल ल्याउनका लागि दुबईको जेन ट्रेड ढुवानी कम्पनीले मल ढुवानी गर्ने ठेक्का पाएको छ ।
सो कम्पनीले आज(मङ्गलबार)बाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम गर्दैछ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार त्यहाँबाट मल बुझेपछि नेपालसम्म आइपुग्न धेरैमा दुई हप्ता लाग्ने छ ।
बङ्गलादेशको कर्पोरेसनले १० हजार मेट्रिक टन मल प्याकिङ गरेर नै दिनेछ, त्यो बुझ्नेबित्तिकै नेपाल ल्याउने प्रक्रिया सुरु हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिनुभयो । बाँकी ४० हजार मेट्रिक टन मलपनि प्याकिङ गरेर ल्याइने उहाँले बताउनुभयो ।

फागुन पहिलो वा दोस्रो हप्तातिर बङ्गलादेशको मल नेपाल आउन सुरु हसने पोखरेलले बताउनुभयो । मल आउने वित्तिकै किसानलाई पनि वितरण गर्ने कार्य सुरु गर्ने लिमिटेडको तयारी छ ।

अहिले कम्पनीसँग पाँच हजार युरिया, डीएपी २१ हजार, पोटास सात हजार दुई सय मेट्रिक टन मौज्दात छ । वैशाखसम्म एक लाख १० हजार मेट्रिक टन मल कम्पनीको भण्डारमा मौज्दात हुन्छ, जुन धान खेतीका लागि प्रयोग हुने उहाँले बताउनुभयो ।

यसपालि मलको अभाव हुन नदिने भनी कृषि तथा पशुपन्छी मन्त्रालय निकै चासोपूर्वक लागेको र कम्पनी पनि त्यसको तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
सरकारले रासायनिक मल बिक्रीवितरणका लागि निर्देशिका जारी गरी कुन पालिकामा कति मल चाहिने हो, त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button