तपाईँ सुन्दै हुनुहुन्छः

उच्च प्राथमिकताका साथ निर्णय कार्यान्वयन गर्ने गराइने 

काठमाडौँ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्रचार प्रसार उप–समितिले मूल समारोह समिति र उप–समितिबाट भएका निर्णयहरू उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ ।

उप–समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको अध्यक्षतामा मन्त्रालयमा आज बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरूले राष्ट्रिय प्रजातन्त्र दिवससम्बन्धी स्लोगनहरु आ–आफ्नो वेभ साइटमा अपलोड गर्ने तथा फागुन ६,७ र ८ गते दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रजातन्त्र दिवसको विषयमा केन्द्रित रही विशेष परिसंवाद, छलफल लगायत जनचेतनामूलक कार्यक्रमको प्रसारण गर्ने साथै सामुदायिक एवं निजी क्षेत्रका सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रिय प्रजातन्त्र दिवससम्बन्धी PSA तयार गरी रेडियो र टेलिभिजनहरूबाट प्रसारण गर्ने, गोरखापत्र र राष्ट्रिय समाचार समितिबाट प्रजातन्त्र दिवसको विशेषाङ्क, विशेष लेख वा आलेख प्रकाशन गर्ने बैठकले निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

साथै बैठकले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकहरूलाई  दूरसञ्चार शूलकहरुमा विशेष छुट दिने लगायतका अन्य प्याकेज ल्याउन आवश्यक व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

बैठकमा सूचना तथा प्रसारण विभाग, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोरखापत्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button