२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई अस्थिरताबाट जोगाउन संसद् विघटनः उद्योगमन्त्री भट्ट

जगत साउद २०७७ माघ २६ गते १८:२१

फाइल तस्बिर

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुभएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाको आज धनगढीमा उद्घाटन गर्नुहुँदै मन्त्री भट्टले षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोज्ने कार्य भएपछि त्यसलाई रोक्न संसद् विघटनको विकल्प नभएको बताउनुभयो ।

मन्त्री भट्टले राष्ट्रपतिको गरिमा र मर्यादा कायम राख्न नसक्नेहरूले देश र जनताको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै भित्र एउटा कुरा र बाहिर अर्कै बोलेर जनतालाई ढाँट्ने काम भइरहेको बताउनुभयो ।

उहाँले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी र नेता माधव नेपाललाई अध्यक्ष पदको मोहले गर्दा पार्टी विभाजनतिर अघि बढेको बताउनुभयो ।

मन्त्री भट्टले मूल पार्टीका सम्बन्धमा शङ्का गर्नुपर्ने छैन, देशलाई विकास र समृद्धिको यात्रातर्फ अघि बढाएको, राष्ट्रियताका पक्षमा बोलेको नेतृत्व नै मूल पार्टी भएको बताउनुभयो ।

उहाँले वैचारिक विचलन पैदा भएर सडकमा गएकाहरूलाई जनताले बुझिसकेको र गुटगत समीकरणले पार्टी एकतालाई कायम राख्ने भन्दा पनि फुटतिर लिएको बताउनुभयो ।

भेलामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले पूर्व जनमुक्ति सेनाका सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका परिवारहरूलाई सरकारले सम्बोधन गर्ने घोषणा अनुरूप आवश्यक काम अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले सरकारले राष्ट्रियता, विकास, सुशासन लगायतका क्षेत्रमा गरेका राम्रा कामहरूलाई जनतासँग लैजाने गरी कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रेस सङ्गठन नेपालका इन्चार्ज राजेन्द्र गौतम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, प्रेस सङ्गठन नेपालका संयोजक गणेश बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, तत्कालीन प्रेस चौतारी नेपालका पूर्व महासचिव प्रमोद दाहाल, पत्रकार महासङ्घका पूर्व महासचिव उजिर मगर, प्रेस सङ्गठन नेपालका प्रदेश इन्चार्ज हेमन्त पौडेल लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रेस सङ्गठन नेपालका सुदूरपश्चिम संयोजक कृष्ण ओलीको अध्यक्षतामा भएको भेलामा प्रदेशका नौ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित