तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १०५ जना प्रहरीको दरबन्दी खाली 

जुम्ला ।  जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो सहर जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो ।
जुम्लाको कठ्याग्रिदो चिसोमा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ ।
थोरै सङ्ख्यामा रहेका प्रहरीले ओभर टाइम ड्युटी गरेर पनि जिल्लामा शान्ति सुरक्षा मजबुत गरिरहेका छन् । स्वयम आफै असुरक्षित भएर दैनिक १८ घण्टा ड्युटी गरेर नागरिकको सुरक्षामा खटिरहेको डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जुम्लामा प्रहरीको जम्मा दरबन्दी ३ सय ५० जनाको हो । तर हाल कार्यरत २ सय ४५ जना मात्रै छन् । भने, १ सय ५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौँदेखि खाली छ । जसका कारण पर्याप्त सुरक्षाकर्मी खटाउन सकस भएपछि सुरक्षा चुनौती बढेको हो ।”
प्रदेश राजधानी पछिको दोस्रो ठुलो सहर जुम्लामा जनघनत्वसँगै सहरीकरण पनि बढ्दै गएको छ । तर सुरक्षाकर्मी घट्दै छन् ।
हत्या, हिंसा, चोरी, डकैतीका घटना दैनिक बढिरहेका छन् । तर पनि न्यून जनशक्तिलाई  ओभर टाइम ड्युटी गराएर शान्ति सुरक्षाका लागि परिचालन गरिएको छ ।
जुम्लामा कार्यरत २ सय ४५ जना मध्ये १ सय ६५ जना सुरक्षाकर्मी जिल्लाभरिका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् । भने, जिल्ला प्रहरी कार्यालयमा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ति सुरक्षा गरिरहेका छन् ।
डिएसपी काफ्ले भन्नुभयो,“ सदरमुकाममा हजारौँको सङ्ख्यामा हुने आन्दोलन प्रदर्शनलाई नियन्त्रण गर्न एक डेढ सय सुरक्षाकर्मी खटाउनुपर्छ । तर २०/३० जना पठाएर भिड नियन्त्रण गर्नु, शान्ति सुरक्षा कायम गर्न निकै सकस हुन्छ ।”
१८ जनाको दरबन्दी रहेको हाँडसिंजा इलाका प्रहरी कार्यालयमा नौ जना मात्रै कार्यरत छन् । भने, १० जनाको दरबन्दी रहेका जिल्लाका सबै अस्थायी प्रहरी चौकीमा ५÷६ जना मात्रै कार्यरत छन् । गाउँमा आगलागी, झैँ–झगडा भएको खण्डमा पनि सुरक्षा दिन सक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिंजा इलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताउनुभयो ।
अधिकांश चौकी भाडाकै घरमा
जुम्लाका अधिकांश प्रहरी चौकी भाडाकै घरमा छन् । जिल्लामा रहेका २७ वटा प्रहरी चौकी मध्ये ११ वटा आफ्नै छन् । भने, ६ वटा विभिन्न कार्यालयसँग सम्बन्धित छन् । साथै १३ वटा चौकी भाडाकै घरमा बसेका छन् ।
ताम्ती, गोठिज्युला, उर्थुलगायत ९ वटा चौकी तत्कालीन रुपमा स्थानीय सरकार, बजार व्यवस्थापन समितिबाट सञ्चालन भए पनि अधिकांश प्रहरीकै आफ्नै भवन छैनन् । सुरक्षा जोखिम बढ्दै जाँदा विभिन्न निकाय तत्तकालिन सहयोग गरेर चौकी बसे पनि आफ्नै भवन नभएको डिएसपी काफ्लेको भनाई छ ।
हाल भाडामै बसिरहेका जिल्ला ट्राफिक कार्यालय, हाँकु, मणिसाँघु र चौथा प्रहरी चौकीको घर भाडा बापत मासिक रुपमा ६२ हजारका दरले वार्षिक रुपमा ७ लाख ४४ हजार रुपैयाँ भाडा तिर्ने गरेको जिप्रकाको लेखा शाखाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वर्षौँदेखि भाडाकै घरमा बसेर पनि शान्ति सुरक्षामा खटिएका चौकीको आफ्नै भवन बनाउन आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकातर्फ जिल्लाको सुरक्षा जनशक्ति कम, अर्कोतर्फ भाडाकै घरमा बस्नु पर्ने बाध्यतामा पनि अधिकतम रुपमा सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा मजबुत बनाएका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button