तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरेबल पुलको एकैदिन उद्घाटन

पर्वत। दुई वटा मोटरेबल पुलको एकैदिन उद्घाटन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा पर्ने रति खोला र कुश्मा नगरापलिका–३ अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको आइतबार एकैसाथ उद्घाटन भएको हो ।

मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतिखोला पुलको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गर्नुभएको हो । रति खोलामा निर्माण भएको पुल रु १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ ।

यो पुल निर्माण भएपछि वर्षौदेखि खोलाबाट हिँड्न बाध्य मोदी गाउँपालिका–६, ७ र ८ का बासिन्दा हर्षित भएका छन् । अब उक्त क्षेत्रमा बाह्रैमास सडक सञ्चालन हुने भएको छ । पुल नहुँदा वर्षेनी खोलाले बगाएर नागरिक ज्यान गुमाउन बाध्य भएका थिए । २०७२ सालदेखि निर्माण शुरु भएको उक्त पुल जग्गा विवाद, भूकम्प, कोरोनालगायतका कारणले ढिलाइ भएको हो ।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउँपालिकाको चित्रे–आर्थर–कार्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्लासमेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भइरहेको पोखरा–पामे–पन्चासे सडकलाई यस पुलले जोड्ने छ ।

त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका–३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीयवासी लाभान्वित हुने भएका छन् ।

अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाइ ७ दशमलव ५० मिटर रहेको छ । सिङ्गल स्पान रहेको यो पुल रु चार करोड १७ लाख ६२ हजार लागतमा निर्माण भएको हो । अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयवासीले बताएका छन् । यो पुल २०७५ साल पुसदेखि निर्माण शुरु भएकोमा गत असोजमा सम्पन्न भएको थियो ।

दुवै पुल सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भएको हो । यस वर्ष पर्वतमा थप पाँचवटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन् ।

महाशिलाले बनायो सभागृह

महाशिला गाउँपालिकाले झण्डै रु एक करोड लागतमा सभागृह निर्माण गरेको छ । गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न एकतले बहुउद्देश्यीय भवन गण्डकी प्रदेश सरकार र पालिकाको लागत साझेदारीमा रु ९८ लाख बराबरको भवन निर्माण गरेको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button