तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकलाई लक्ष्य गर्दै कालिञ्चोकमा स्वास्थ्य शिविर

चरीकोट । दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गणका क्याप्टेन रोशन बस्तेतले कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पर्यटकलाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । शिविरमा आइतबार ६० पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो । मौसममा परिर्वतन आएसँगै कालिञ्चोक क्षत्रमा केही दिनअघि परेको हिमपातमा रमाउन आउने पर्यटकलाई हाई अल्टिच्युट (लेक लाग्ने) र श्वासप्रश्वासमा समस्या हुनका साथै स्वास्थ्यमा समस्या देखिने भएका कारण शिविर सञ्चालन गरिएको गणले जनाएको छ ।

हिउँ खेल्नका लागि उपयुक्त गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षत्र कालिञ्चोकमा शनिबार बाक्लो हिमपात भएको थियो । ३८४२ मटिरको उचाइमा रहेको यस क्षत्रमा हिउँ खेल्नकै लागि काठमाडाँै तथा तराईका विभिन्न जिल्ला र भारतदेखि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन् । तराईका विभिन्न ठाउँबाट त्यस क्षत्रमा हिउँ खेल्न जाने र हिमाली क्षत्रका बारेमा जानकारी नहुने हुँदा धेरै पर्यटकको स्वास्थ्यमा समस्या हुने गरेको पाइएकाले यो वर्ष त्यस्ता पर्यटकलाई मध्यनजर गरी शिविरबाट स्वास्थ्य सेवा प्रदान गरिएको क्याप्टेन बस्नेतले जानकारी दिनुभयो ।

कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा आएको भए पनि स्वास्थ्य चौकी तथा फार्मेसी सञ्चालनमा आउन सकेका छैनन । यस समयमा अधिकांश समय हिउँ पर्ने यस क्षत्रमा पर्यटकलाई सामान्य स्वास्थ्य समस्या भए पनि सदरमुकाम चरीकोट ल्याउनुपर्ने बाध्यता रहेका छ । कालिञ्चोक तथा दोलखा उच्च क्षेत्रमा यो वर्षकै पहिलो पटक बाक्लो हिमपात भएको छ । हिउँ खेल्ने विभिन्न क्षेत्रबाट कालिञ्चोकमा आन्तरिक पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button