तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप

तनहुँ । तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।

कैदीबन्दीलाई कोरोना खोप

तनहुँ कारागारका कैदीबन्दीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कारागारमा पुगेर स्वास्थ्यकर्मीको टोलिले २६९ जनालाई खोप लगाईदिएका हुन ।खोप लगाउनेमा दुई महिला र सात पुरुष सुरक्षाकर्मी बाहेक सबै कैदीबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । पहिलो चरणमा कोभिड–१९ नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका १ हजार ७८९ जनालाई लक्षित गरी १७८९ भायल खोप जिल्ला आएको थियो ।

उच्च जोखिममा रहेको भन्दै सरकारको प्राथमिकतामा परेका तनहुँ कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई पनि खोप लगाइएको कार्यालयका खोपसम्बन्धी अधिकारी विरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

खोप लगाउने कार्यको सहायक प्रजिअ चित्रांगद बरालले अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button