तपाईँ सुन्दै हुनुहुन्छः

खाल्डोमा डुबेर बालिकाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित मदनपुरमा गोबरको खाल्डोमा डुबेर आज बिहान एक जना बालिकाको मृत्यु भएको छ । स्थानीय राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीया योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
अन्दाजी बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एक छिन पछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् ।
करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पुर्‍याउन साथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोस्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button