तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल रेडक्रस सोसाइटी पर्साको अधिवेशन सम्पन्न

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५२ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष वीरेन्द्रराज कँडेलको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन रेडक्रस सोसाइटी प्रदेश न २ का अध्यक्ष फुलमहम्मद मियाले गर्नुभएको थियो ।

कार्यक्रममा उपसभापति श्रीमती मधु राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडक्रसका मन्त्री शैलेन्द्र कुमार चौरसियाले आर्थिक वर्ष २०७६–०७७ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष महन्थ प्रसाद यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बढी सङ्ख्यामा रक्तदान गरेको भन्दै वीरगञ्ज कारागारलाई र बढी महिलाबाट रक्तदान गराए बापत रेडियो वीरगञ्ज ९९ मेगाहर्जलाई सम्मान गरिएको थियो ।

त्यसैगरी रेडक्रसका पुर्वमन्त्री इन्द्रजित श्रीवास्तवलाइ स्व.भूपेन्द्रलाल स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो भने नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रलाई पटक पटक सहयोग गरेको भन्दै सूर्या नेपाल प्रा.लि, वीरगञ्ज महानगरपालिका, बहुदरामाई र पर्सागढी नगरपालिकालाई सम्मान गरिएको थियो ।

त्यसैगरी कोरोना महामारीको समयमा दिनरात सेवाभावले खटिएका एम्बुलेन्स चालक ममताज मियालाई उत्कृष्ट कर्मचारी सेवा पुरस्कार, रक्तसञ्चार केन्द्रमा रगतपुर्तिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोमा रक्तसञ्चार केन्द्रका कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा रेडक्रसका पदाधिकारी, सल्लाहकार, विशिष्ट सदस्य, २२ वटा उपशाखाबाट सभासद्, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक, स्वयंसेवक, रेडक्रस प्रेमी, विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको रेडक्रस पर्साका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button