तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणको अन्तिम दिन बेलौरीमा सेवा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरमा कोभिड विरुद्ध पहिलो चरणको खोप सेवाको आज अन्तिम दिन बेलौरीमा समेत खोप सेवा सञ्चालन गरिएको छ ।

यही माघ १४ गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत कञ्चनपुर जिल्लाको महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिएको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु खोप लगाउन सदरमुकाम जान नसकेको अवस्थामा खोप सेवाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले शनिबार एक दिनका लागि बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक बहादुर कुँवरले बताउनु भएको छ ।

पहिलो चरणमा प्रचलित ऐन कानून बमोजिम सूचीकृत भएका एवं सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापक तथा सरसफाइकर्मीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लामा जम्मा २ हजार ८ सय २० जनालाई खोप लगाउने लक्ष्यका साथ यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button