तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

कास्की।कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ । कोरोनाअघि २६ प्रतिशत हाराहारीमा प्रगति भएको आयोजनाको मङ्सिर र पुस महिनामा पाँच प्रतिशत भौतिक प्रगति बढेर ३१ प्रतिशत पुगेको हो ।

आयोजना सम्पन्न गर्न अब छ महिना समय बाँकी रहँदा दुई तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्र्न कठिन देखिएको छ । पछिल्लो समय आयोजना निर्माण तीव्रताका साथ अघि बढे पनि निर्धारित समयमा पूरा गर्न कठिन देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको आयोजना स्रोतले जनाएको छ ।

यसअघि बन्दाबन्दी तथा निर्माण कम्पनीका प्राविधिक कर्मचारी लामो समय नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा शुरु हुन सकेको थिएन । आयोजना निर्माणका लागि सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनसँग निर्माण सम्झौता भएको थियो । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम शुरु भएको थियो ।

पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले सो आयोजना सञ्चालन गरेको हो ।

कोरोनाका कारण गत भदौसम्म आयोजना पूर्णरुपमा ठप्प थियो । भदौदेखि आंशिक काम शुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा काम शुरु भएको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताउनुभयो । उहाँका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेशन ट्याङ्की, स्लो स्याण्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्याङ्की निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक तीव्रताका साथ भइरहेको छ । हाल आयोजनामा ४०० मजदूरले काम गरिरहेको बताइन्छ ।
“कोरोनाका कारण आयोजनालाई असर पारेकाले काम तीवरुपमा अघि बढाएर लक्ष्य भेट्टाउने गरी अहिले काम भइरहेको छ”, डेपुटी परियोजना प्रवन्धक कार्कीले भन्नुभयो, “हाल काममा कुनै व्यवधान र समस्या छैन । तोकिएको समयसीमा भित्रमा आयोजना सम्पन्न गर्ने कुरामा प्रतिवद्ध छौँ ।” आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सैँ घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलव्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’(ढुँगा, बालुवा हटाउने पोखरी) बनिरहेका छन् । सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की(स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ ।

पोखरा बजार क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि आयोजनाअन्तर्गत फूलबारी, कोलपाटन र पस्र्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङ्की निर्माण भइरहेको खानेपानी संस्थानका इञ्जिीनियर सन्तोषकुमार दासले जानकारी दिनुभयो । फूलबारीमा निर्माणाधीन ट्याङ्कीको ९५, कोलपाटनको ६० र पस्र्याङको ४० प्रतिशत हाराहारीमा भौतिक प्रगति छ ।

आयोजनाले बजार क्षेत्रमा पाइपलाइन विस्तारलाई तीव्रता दिएर काम अघि बढाएको छ । विगतमा चार समूहबाट काम भइरहेकाले हाल १० वटा टोलीले नदीपुर, नयाँबजार, महेन्द्रपुल, सिर्जनाचोकलगायतका क्षेत्रमा पाइप जडानको काम गरिरहेको इञ्जिीनियर दासले जानकारी दिनुभयो । बजार क्षेत्रमा ९९ किमी पाइपलाइन सुधार आयोजनाबाट र १४ किमी खानेपानी संस्थानले विस्तार गर्नेछ । संस्थानबाट विस्तार कार्यका लागि बोलपत्र भएर निर्माण कम्पनी छनोटको तयारी गरिएको बताइन्छ । संस्थानले थप सात हजार ३०० धारा जडान गर्नेछ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button