तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती प्रदेशका सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने 

मकवानपुर । बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले प्रदेशका सबै स्थानीय तहहरूमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

शुक्रवार हेटौँडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उहाँले आयुर्वेदमा समेत मानिसहरूको रुचि बढ्दै गएकाले सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने बताउनुभएको हो ।

वैकल्पिक चिकित्सा तथा आयुर्वेदमा आकर्षण बढ्दै गएकाले सबै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशक अधिकारीले बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै प्रदेशभरिमा ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरू स्थापना भएको उहाँले बताउनुभयो ।

यस्तै गाउँघर क्लिनिकले गाउँ स्तरबाट स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै निर्देशनालयबाट ग्रामीण स्तरमा महिला समूहमार्फत महिनामा १ पटक स्वास्थ्यसम्बन्धी छलफल गरेर जनचेतना बढाउने कार्य समेत भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयमार्फत “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” कार्यक्रम सञ्चालन गरेर नागरिकलाई स्वस्थ हुनका लागि स्वस्थ व्यवहार लागु गर्न सचेत गराइएको निर्देशक अधिकारीले बताउनुभयो ।

कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button