तपाईँ सुन्दै हुनुहुन्छः

अछाम लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमपात

अछाम ।अछाम लगायत सुदूरपश्चिमका  पहाडी जिल्लाहरूमा  हिमपातसहित वर्षा भएको छ ।
अछामको रामारोशन, छातासैन, कालेकाँडा, बर्जु, देविस्थान, मालिका, आफरतोला, ठुलासेन, पातल बान्नि लगायतका विभिन्न उच्च लेकाली भेगमा  बिहीबार रातिदेखि नै वर्षासहित हिमपात भएको हाे ।

वर्षा भएसँगै चिसो बढेको छ । जाडोले स्थानीयहरू घरभित्रै बसेका छन् । विशेष गरी हिमाली जिल्लाबाट अछामका विभिन्न ठाउँमा आएर बसेका भेडा गोठालाहरूलाई समस्या भएको छ ।

लामो समयपछि वर्षा भएपछि किसानले राहत महसुस गरेका छन् । वर्षाले सुक्नै लागेको हिउँदे बाली गहुँ, जौ, मसुराे लगायतका बालीलाई राम्रो गर्ने किसानले बताएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, डडेलधुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गए रातिदेखि वर्षासहित हिमपात भएको हो ।

बैतडीको श्रीभावर, ढोल्यामोड, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेलधुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ ।

हिमपातपछि बढेको चिसोले पहाडी तथा हिमाली जिल्लामा जनजीवन केही प्रभावित भएको छ । तर किसानहरू भने हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।

वर्षाले केही भए पनि बालीनालीमा राम्रो गर्ने अछामको तुर्माखाँद गाउँपालिका-८ धमालीका धनसरा धमालाले बताउनुभयो । बालीनालीका लागि पर्याप्त वर्षा भने नभएको किसानले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button