तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ५ हजार ८ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाए 

रुपन्देही  । रुपन्देहीमा कोरोना विरुद्धको खोप अभियानमा ५ हजार ८ सय ५९ जनाले पहिलो डोजको खोप लगाएका छन् ।
माघ १४ गतेबाट सुरु भएको १० दिने खोप अभियान अन्तर्गत बिहीबारसम्म ८ हजार ७ सय जनालाई पहिलो डोजको खोप लगाउने लक्ष्य राखिए पनि दुई तिहाइले मात्र खोप लगाएका छन् ।
पहिलो चरणमा खोप लगाउन तोकिएका फ्रन्टलाइनर मध्ये ६७.३४ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
खोप लगाएपछि कुनै असर हुने हो भन्ने डरले कतिपय खोप लगाउन आएका छैनन् ।
अग्रपङ्तिको पहिलो प्राथमिकतामा परेका ३ हजार १ सय ३५ जना स्वास्थ्यकर्मी, १ हजार १ सय ८४ जना स्वास्थ्य संस्थाका कर्मचारी, एक हजार ३ जना महिला स्वास्थ्य स्वयंसेविका, ७६ जना सरसफाइकर्मी, ४७ जना एम्बुलेन्स चालक, ३५ जना शव व्यवस्थापन सुरक्षाकर्मी, १९ जना बृद्धाआश्रमका आश्रित तथा हेरालु, ३ सय २७ जना जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी र ३३ जना अन्य जोखिमपूर्णले पहिलो खोप लगाएको डा. गिरीले बताउनुभयो ।
सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको प्रमाण पत्र र परिचय पत्र लिई २४ गते सम्म खोप लगाउन सकिने छ ।
खोपको अभियान पहिलो दिन २ वटा खोप केन्द्रबाट सेवा दिए पनि आवश्यकता र सहजताका लागि अन्य ३ वटासम्म खोप केन्द्र थपेको स्वास्थ्य कार्यालयका भनाइ छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप कोभिशिल्ड ६ महिनामा भित्र प्रयोग गरिसक्नु पर्नेछ । सरकारको पहिलो चरणको कार्यक्रम शनिबार सकिँदै छ तत्पश्चात् ४ हप्तापछि दोस्रो खोपको अभियान सुरु हुनेछ ।
हालसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १९३१, भीम अस्पताल भैरहवाबाट १३७६, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट १४६७, आम्दा अस्पताल बुटवलबाट ७३८ र देवदह मेडिकल कलेज देवदहबाट ३४७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभएको छ ।
रुपन्देहीमा खोप लगाएका मध्ये २ जनामा सामान्य ज्वरो देखिए पनि पनि जटिल खालको कुनै पनि असर देखिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button