तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले बिजुली किन्थ्यो, अब बेच्छ : प्रधानमन्त्री ओली

पर्वत । कालीगण्डकी करिडोर प्रसारण लाइन अन्तर्गत २२०/१३२ केभी खुर्कोट– दाना प्रसारण लाइन र खुर्कोट र दानामा रहेको सब–स्टेसनको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजनाको प्रसारण लाइन र सब–स्टेसनको भर्चुअल माध्यममार्फत उद्घाटन गर्नुभएको हो ।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा आयोजित सभालाई प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल विद्युत् किन्ने स्थितिबाट बेच्ने अवस्थामा पुगेको बताउनुभयो ।
आजभन्दा १११ वर्ष पहिलादेखि नेपालमा विद्युत् उत्पादनको सुरुवात भएको प्रसङ्ग सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले सम्म नेपाल ऊर्जामा परनिर्भर भए पनि अबका केही वर्षमा निर्यात गर्न योग्य हुन थालेको स्पष्ट पार्नुभयो ।
उहाँले अहिले हिउँद बर्खा दुवै समयमा नेपाललाई चाहिने विद्युत् उत्पादन भइरहेको र केही वर्षमा यो उत्पादन बढी हुने भएकाले अब अन्तरदेशिय व्यापार गर्ने कार्यदिशामा सरकारले काम र योजना अगाडि बढाएको प्रधानमन्त्रीले बताउनुभयो ।
विमस्टेकमा आबद्ध देशहरू सँग विद्युत् व्यापारको सम्झौता भएको जानकारी दिँदै प्रधानमन्त्रीले देशमा ठुलो मात्रामा उत्पादन हुने बिजुली विमस्टेक राष्ट्रहरूमा बेचेर आम्दानी लिने चरणमा रहेको योजना सुनाउनुभयो । २०७२ साल असोजमा आफुँ प्रधानमन्त्री हुँदा देशमा १६ घण्टा सम्म लोडसेडिङ हुँदै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले लोडसेडिङ अन्त्य हुनु आफैँमा गौरवको विषय रहेको पनि चर्चा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशमा भएका सम्भावनाहरूको खोजी गर्ने, पूर्वाधार विकास गर्ने, देशको अर्थतन्त्र उकास्ने, राजनीतिक समस्यालाई समाधान गर्ने, कूटनीतिक सम्बन्धलाई राम्रो बनाउने बारेमा सरकार दृढताका साथ लागिपरेको बताउनुभयो ।
कार्यक्रममा भौतिक रुपमा उपस्थित हुनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले ठुला देखि साना आयोजनाहरू अहिले निर्माणको चरणमा रहेकाले अबको २० वर्षमा नेपालमा ४२ हजार मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिनुभयो ।
उर्जा मन्त्री रायमाझीले नेपालमा उत्पादन भएको बिद्युत् व्यापारका लागि सरकार स्पष्ट मार्ग निर्देशन सहित अगाडि बढेको बताउनुभयो । रायमाझीले झोलामा खोला राख्ने प्रवृत्तिको अन्त्यका लागि २०७२ सालमा ९९ बुँदे मार्ग निर्देशन तयार पारेर अगाडी बढेपछि धेरै जसो विद्युत्का आयोजनाले गति लिएको स्पष्ट पार्नुभयो ।
एसियाली विकास बैङ्कको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि सुरु गरेको यो परियोजना सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा २ अर्ब ७४ करोड खर्च भएको नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दाना देखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्म जोडिने यो प्रसारण लाइनको दोस्रो खण्ड पर्वतको खुर्कोट हुँदै बुटवल सम्म जोडिने छ । दाना–खुर्कोट सब स्टेसनको दुरी ३९ किलोमिटर र खुर्कोट–बुटवलको दुरी ८८ किलोमिटर छ ।
यो प्रसारण लाइन निर्माण पश्चात् ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने छ । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण सुरु गरेको छ ।
पर्वतको मोदीखोलामा निर्माणाधीन आयोजनाको विद्युत् पनि यो प्रसारण लाइन मार्फत केन्द्रीय लाइनमा जोड्ने तयारी छ । दानादेखि खुर्कोट सम्म ५०० मेगावाट र खुर्कोटदेखि बुटवल सम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो । (तस्बिर: रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button