तपाईँ सुन्दै हुनुहुन्छः

राम्राभन्दा हाम्रा खोज्दा दुई वर्षसम्म शिक्षकको पदपूर्ति हुन सकेन

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न विद्यालयहरूमा राजनीतिक दाउपेचका कारण विगत दुई वर्षदेखि शिक्षक पदपूर्ति हुन सकेको छैन ।

राजनीतिक खिचातानीका कारण नगरपालिकाका ६ वटा विद्यालयका ८ जना शिक्षकको पदपूर्ति हुन सकेको छैन ।

जय नेपाल निम्न माध्यमिक विद्यालय गर्चेमा निमावि राहत दुई जना, शारदा निमावि केउरेनीमा प्रावि राहत एक जना, सरस्वती प्रावि फुर्केसल्लीमा राहत एक जना , अमर प्रावि काफलपानी राहत एक, महेन्द्र मावि आपचौरमा निमावि राहत एक, प्रावि राहत एक र सिद्धेश्वरी मावि माझखर्क निगालचुमामा  प्रावि अस्थायी दरबन्दी एक गरी जम्मा आठ जना शिक्षकको पदपूर्ति हुन सकेको छैन ।

राजनीति दबाब तथा राम्राभन्दा हाम्रा मान्छे ल्याउनुपर्छ भन्दै विद्यालय व्यवस्थापन समितिले पदपूर्तिको लागि विज्ञापन खोल्न नसकेको स्थानीयको भनाई छ  । अधिकासं ठाउँमा शिक्षकहरू स्थायीमा नाम निकालेर अनेत्र जाँदा उक्त ठाउँमा शिक्षक खाली रहेका छन् ।

विद्यार्थी भने उक्त विषय नपढी परीक्षा दिने गरेका छन् । विद्यालयको चरम लापरबाही प्रति स्थानीय अभिभावकले आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।

स्थानीय उषा रानाका अनुसार विद्यालयको मुख्य विषय फेरबदल गर्न खोज्दा र आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाउन खोज्दा पढाई अस्तव्यस्त बनेको छ  । यसतर्फ  जनप्रतिनिधि, विद्यालय प्रशासनदेखि स्थानीय राजनीतिक अगुवाहरू नै मुख्य दोषी रहेको उहाँको भनाई छ ।

राजनीतिक स्वार्थ र आफ्ना मान्छे राख्न खोज्दा संस्थालाई धरासयी नबाउन पटक पटक अभिभावकले चेतावनी दिँदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेको छैन। स्वतन्त्रपुर्वक विद्यालयलाई निर्णय गर्ने अधिकारमा बाह्य राजनैतिक हस्तक्षेप देखिन्छ । यता नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवास्था देखाउने गरेको छ ।

शिक्षाको पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा बेखबर बनेको छ । वर्षौँदेखि रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गरी पठन पाठन अघि बढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्वक आफ्नो निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरह बनेको छ ।

धेरैले निजीमा राखेका शिक्षकहरूको तलब दिन नसक्दा सङ्कट थपिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button