तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल अभियानमा नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण : मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनीले सुलभ तथा गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को १७औँ वार्षिकोत्सव अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले व्यवसायीक दक्षता र सेवामा गुणस्तरीयता ल्याउनका लागि संस्थालाई कम्पनी बनाइएको भन्नुहुँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।


मन्त्री गुरुङले नेपाल टेलिकमले बदलिँदो परिस्थिति अनुरूप आफूलाई रूपान्तरण गर्दै कम्पनीमा जनताको अपनत्व हुने व्यवस्था सुनिश्चित गर्नु पर्ने बताउनुभयो ।

मन्त्री गुरुङले गरिबी निवारण र रोजगारीका क्षेत्रमा सहयोग गरी समृद्ध नेपाल बनाउने अभियानमा नेपाल  टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल टेलिकमको ऐतिहासिक महत्त्व रहेकोले जनगुनासोलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जनताको अपेक्षा र समयको माग अनुसार टेलिकमलाई रूपान्तरण गरिने बताउनुभयो ।

वार्षिकोत्सव अवसरमा टेलिकममा २० वर्ष काम गर्नुहुने कर्मचारी, टेलिकमका साझेदार व्यापारिक संस्था र सहकार्य गर्ने व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button