२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

रेडियो नेपाल २०७७ माघ २२ गते १३:५७

महोत्तरी। पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो ।

“ल हेर्नोस्, अब पारिलो घाम लागेर जीउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुशी नै हुनुपर्ने हो”, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भन्नुभयो, “ यसपालि पानी नपरी हिउँद बित्यो, आउने दिन खुशीका हुने छैनन् ।” हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र अब चाँडै पानीका मुहान सुक्दै जाने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका–४ पलारका ७० वर्ष उमेरकै किसान चौठी बाँतर बताउनुहुन्छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ७५ वर्षीय किसान रामनन्दन महतो यसपालि हिउँदमा पानी नपरी घाम चर्केँदै गएको हुँदा लगत्तै खानेपानीको हाहाकार पर्न सक्ने बताउनुहुन्छ । “माघ नसकिँदै खोल्साखोल्सी सुकिसकेका छन्, सदाबहार भुल्के पानीको मुहानमा अहिल्यै कमिला हिँडेका देखिन्छन्”, महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिवास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङवा हिउँदे वर्षा नहुँदा पर्ने प्रभावबारे चिन्ता जनाउँदै भन्नुहुन्छ, “अब यी पाखाबारीमा हरियो देखिने छैन ।”

फलपूmल खेती (आँप, लिच्ची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिवास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, टुटेश्वर, पाटु, वरडाँडा र माईस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा छन् । यसैगरी जिल्लाकै फलफूल खेतीको पकेटक्षेत्र मानिने गौशाला नगर क्षेत्रका भरतपुर, लक्ष्मीनिया र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने चिन्ता व्यक्त गर्छन् ।

हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउनेमात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको सम्झन्छन् । “हिउँदे वर्षा सिँचाइका लागि मात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण (विस्तुर नजाने) हुन्छ”, बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतो भन्नुहुन्छ, “हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।” हिउँदे वर्षाको मानव र यावत जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने विगतमा पशुपतिनगर गाविस छँदा अध्यक्षसमेत रहनुभएका महतोको थप भनाइ छ । “तर यसपालि हिउँदे वर्षा भएन, खै के उल्का उत्पात व्यहोर्नुपर्ने हो”, उहाँले थप चिन्ता व्यक्त गर्दै भन्नुभयो ।

महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांश आकाशे पानीको भरमा खेती गरिने हुँदा यहाँ समय–समयको वर्षाले तत्कालै प्रभाव पार्ने गरेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगब्याधका प्रकोप पनि बढ्ने गर्छन् । सबैभन्दा मुख्य कुरा त अब गर्मी मौसम शुरु भएलगत्तै खानेपानीकै हाहाकार पर्नसक्नेतर्फ अहिले नै सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बूढापाका बताउँछन् ।रासस

सम्बन्धित