तपाईँ सुन्दै हुनुहुन्छः

साउनयता २२ वन्यजन्तु मरे

चितवन ।  वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल र बाँकी चित्तल मरेका हुन् । वास्तविक तथ्याङ्क नराखिए पनि ४० प्रतिशत हाराहारी टिकौलीस्थित पूर्व पश्चिम राजमार्गमा सवारीको ठक्करबाट मारिएका हुन् । उमेर पुगेर, बाघको आक्रमणबाट, एकापसमा जुधेर पनि मरेका उहाँले जानकारी दिनुभयो ।

यसै अवधिमा विभिन्न ठाउँबाट १८ जनावरलाई उद्धार गरिएको छ । चित्तल, बँदेल, रतुवा, मृग, अजिङ्गर, जरायो, मलछाप्रोजस्ता जनावरलाई उद्धार गरिएको हो ।

लडेर घाइते भएका, जुधेर घाइते भएका, पासोमा परेका जनावरलाई उद्धार गरिएको उहाँले बताउनुभयो । घाइते जनावरलाई पशु चिकित्सक डाकेर उपचारसमेत गरिएको छ । सामान्य घाइतेलाई निगरानीमा राखेर उपचारपछि बथानमा छाड्ने गरिएको छ ।

गत आर्थिक वर्षमा यसै क्षेत्रमा ३१ वन्यजन्तु मरेका थिए । सोमध्ये एउटा गैँडा र एउटा पाटेबाघ पनि रहेका थिए । त्यसै अवधिमा १६ जनावरलाई उद्धार गरिएको थियो । बरन्डाभार क्षेत्रमा दुवैपट्टि वन र बिचमा राजमार्ग रहेको छ । जनावर आवतजावत गर्दा दुर्घटना हुने गर्दछ ।

जिल्लामा ४३१ वटा कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँच धार्मिक वन रहेका छन् । टिकौलीपछि धेरै सवारी साधन आवतजावत हुने वन क्षेत्र नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र हो । सो क्षेत्रमा वन्यजन्तु आवतजावत गर्न सडकमुनि पुलको व्यवस्था गरिएको छ ।

गत वर्षहरुमा सो सडकमा वन्यजन्तु मरेका भए पनि यस वर्ष कुनै दुर्घटना नभएको खनालको भनाइ छ । टिकौलीमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्न सकिएमा दुर्घटनामा कमी आउने उहाँले जानकारी दिनुभयो ।

यसअघि दाताले क्यामेरा जडान गरिदिएको भए पनि मर्मतसम्भार हुन नसक्दा थन्किएका छन् । सिसी क्यामेरा हुँदा दुर्लभ वन्यजन्तुको सुरक्षासँगै आपराधिक गतिविधि रोक्नसमेत सहयोग पुगेको थियो ।

जिल्लाका राष्ट्रिय वनअन्तर्गतका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश जनावार रहेका छन् । टिकौलीमा वन क्षेत्र पार गर्दा समय काड लागू गरेमा दुर्घटनामा कमी आउने खनाल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button