तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि आयोगबाट करिब ७ अर्ब ८ करोड रकम माग

File Photo

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७ करोड, ९४ लाख ८० हजार निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगको बैठकले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाको लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरे अनुसार पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी कोभिड–१९ महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ को कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको र निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button