तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकतामा परेका दुर्गम क्षेत्रका व्यक्तिलाई ३ दिनभित्र कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ । दुर्गममा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई अबको ३ दिनभित्र कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले खोप अभियानको पहिलो प्राथमिकतामा परेका व्यक्ति अन्तर्गत अबको ३ दिनभित्र दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाइने जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले खोप पाउन छुटेका लक्षित व्यक्तिहरूलाई सम्बन्धित कार्यालयको सिफारिसमा जिल्लास्थित स्वास्थ्य कार्यालय गई खोप लगाउन सकिने जानकारी गराउनुभयो । यस्तै पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समूहका व्यक्तिहरूले भने अर्को चरणको उमेर समूह अनुसारको पालोमा खोप सेवा लिन अनुरोध गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म मुख्य प्राथमिकतामा परेका १ लाख ४५ हजार ८ सय ४४ व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । सरकारले कोरोनाविरुद्ध खोप अभियानको पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको छ ।

यसैबिच, कोरोना भाइरसको संक्रमण बाट आज थप २ सय ६ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ६७ हजार ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर ३ हजार ५ सय ९७ वटा नमुना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।

आज कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button