तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा परराष्ट्र मन्त्रीसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण व्यवस्थापन लगायतका विषयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ ।

निर्वाचन आयोगमा आज भएको छलफलमा मन्त्री ज्ञवालीले निर्वाचनमा आउने अन्तर्राष्ट्रिय पर्यवेक्षकका लागि आवश्यक सहयोग र समन्वय परराष्ट्र मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाका पर्यवेक्षकहरूसँग सम्पर्क अधिकृतको रुपमा खटिने परराष्ट्र सेवाका कर्मचारी परराष्ट्र मन्त्रालयबाट तोक्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयताको लागि अन्तर्राष्ट्रिय मान्यता समेत आवश्यक रहेकोले सोसम्बन्धी उपयुक्त वातावरण तयार गर्न परराष्ट्र मन्त्रालयको सहयोग र समन्वय आवश्यक रहनेमा जोड दिनुभयो ।

बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न आयोगबाट तर्जुमा गरिने कार्यविधिका सैद्धान्तिक एवम् व्यवहारिक पक्षमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबिच, निर्वाचन आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारी र डा.जानकी कुमारी तुलाधरले आज निर्वाचन आयोगमा पद बहाली गर्नुभएको छ ।

आजै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शपथ गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधरलाई निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button