तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसेनमा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सम्पन्न

अछाम । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका स्वास्थ्य कार्यक्रताहरुको लागि २ दिने अनुशिक्षण कार्यक्रम मंगलसेन नगरपालिका, अछाममा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकामा नयाँ कार्यक्रमको रुपमा सञ्चालन भएको उक्त कार्यक्रमको अनुशिक्षण गरिएको हो ।

अनुशिक्षणमा आधारभूत स्वास्थ्य सेवा, पोषण प्याकेज, किशोर किशोरीमैत्री सेवा र नीतिगत सन्दर्भ बारे जानकारी सहित शिक्षक विद्यार्थीको स्वास्थ्य परिक्षण, स्वास्थ्य सरसफाइको अवस्था सुधारका विभिन्न सवालमा छलफल भएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीको अध्यक्षतामा भएको अनुशिक्षणको समापन समारोहमा कार्यवाहक नगरप्रमुख सरिता उपाध्यायले स्वास्थ्य सरसफाइमा नमुना नगर बनाउने गरी फिल्डमा खटिन आग्रह गर्दै नर्सिङ कार्यकर्तालाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यालय नर्सिङ कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन उत्कृष्ट कार्यसम्पादन गर्न विद्यालय नर्सिङ कार्यकर्तालाई आग्रह गर्नुभयो।

अब विद्यालय स्तरबाटै स्वास्थ्य, सरसफाइ, पोषणको अवस्था सुधारका लागि डटेर काममा लाग्नुपर्ने भन्दै उपाध्यायले किशोरी शिक्षा सँगै नगरपालिकाले विद्यालयमा उपलब्ध गराएको सेनेटरि प्याडको प्रयोगलाई प्रभावकारी बनाउन समेत पहल गर्न निर्देशन दिनुभयो । सुदूरपश्चिममा नमुनाका रुपमा मंगलसेन नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन भएकोले यो कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि नर्सिङ कार्यकर्ताकै भूमिका बढी हुने उहाँको भनाइ छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीले नर्सिङ कार्यकर्तालाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै कार्यक्षेत्रमा सकारात्मक सामाजिक परिवर्तन गर्न र आफ्नो व्यक्तित्व विकास गर्न समेत सक्रिय हुन सुझाव दिनुभयो । नीतिगत र व्यवहारिक कुराहरूलाई मध्यनजर गर्दै कार्य गर्न आवश्यक रहेको बताउँदै उहाँले कुनै समस्या आइपरेमा नगरपालिका र स्वास्थ्य शाखालाई जानकारी गराउन अनुरोध गरे ।

यस्तै सहभागीको तर्फबाट कुन्ती माविका नर्सिङ कार्यकर्ता जमुना खातीले विद्यालयमा आधारभूत स्वास्थ्य, सरसफाइ र पोषणको अवस्था सुधार कार्य के कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा आफूहरू जानकार भएको र अनुशिक्षणमा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा सबै नर्सिङ कार्यकर्तालाई ल्यापटप र झोला समेत हस्तान्तरण गरिएको छ । २ दिन सम्म चलेको अनुशिक्षणको सहजीकरण स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गाना, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी, जिल्ला अस्पताल अछामका नर्सिङ निरीक्षक गङ्गा बुढामगरले गर्नुभएको थियो ।

२ दिन सम्म चलेको अनुशिक्षणमा मंगलसेन नगरपालिका अन्तरगतका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र नर्सिङ स्टाफहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button