तपाईँ सुन्दै हुनुहुन्छः

करोडौँ मूल्यको काठ नष्ट हुने अवस्थामा

वीरगञ्ज । प्रदेश सरकारको बेवास्ताको कारण पर्साको वन क्षेत्रमा करोडौँ मूल्य बराबरको हजारौँ क्युफिट काठ नष्ट हुने अवस्थामा पुगेको छ ।

वन कार्यालयले टाँचा लगाई चाङ मिलाएको काठ विक्री वितरण नगर्दा कुहिएर नष्ट हुने अवस्थामा पुगेपछि राज्यले करोडौँको नोक्सानी व्यहोर्नुपर्ने अवस्था देखिएको विन्दवासिनी साझेदारी वन व्यवस्थापन समितिका संयोजक रिजवान अन्सारीले बताउनुभयो । चाङ लगाइएको काठहरूको बिक्री वितरणमा प्रदेश सरकारले रोक लगाएपछि थप अन्यौलता बढेको अन्सारीले बताउनुभयो ।

अहिले लडेको, डढेको र सुकेको काठहरूको छपान र कटान हुन नसकेको बताउँदै स्पष्ट नीति नआउँदा वन समिति मूकदर्शक बनेको गुनासो अन्सारीको छ । यता प्रस्तावित गादीमाई साझेदारी वन व्यवस्थापन समितिका संयोजक कृष्णमोहन यादवले सरकारको दोधारे नीति र कर्मचारीहरूको अदूरदर्शिताका कारण साझेदारीका जिम्मेवार पदाधिकारीहरू पनि अहिले मूकदर्शक बन्न पुगेको बताउनुभयो ।

करोडौँको सम्पत्ति कुहिएर नष्ट हुँदा समेत प्रदेश सरकार चुप लागेर बस्ने तर जनताले महँगो मूल्यमा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button