तपाईँ सुन्दै हुनुहुन्छः

अक्करे पहाडमा मोटर

बेनी। रघुगङ्गा गाउँपालिका–७ गौडामुनिका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जीप चढेर आउनुभयो । पहिलोपटक घरदेखि सदरमुकामसम्मको सवारी गर्न पाउँदा ७६ वर्षका विकमा खुशी छायो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्र्याक निर्माणले करीब तीन वर्षको प्रयासपछि माघ पहिलो साता मात्रै पूर्णता पाएको हो ।

मानिस हिँड्नसमेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा सडक निर्माण भएपछि रघुगङ्गा गाउँपालिका–४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमङ्गले क्षेत्रका सयौँ घरधुरी लाभान्वित भएका छन् । तत्कालै सडकको ट्र्याक निर्माण होला भन्ने नलागे पनि अहिले आफू नै गाडी चढेर आवतजावत गर्न पाउँदा अत्यन्तै खुशी लागेको विकको भनाइ छ ।

“पहिले वृद्धवृद्धाहरू हिँड्न सक्ने अवस्थै थिएन, डोकोमा बोकेर वारपार गर्नुपथ्र्यो, नभए घुमाउरो बाटो हिँड्नुपथ्र्यो, पछि भिरमा मान्छे हिँड्ने बाटो बन्यो”, उहाँले भन्नुभयो, “यही भिरको बाटोमा यसरी मोटर चढ्न पाइन्छ जस्तो त लागेकै थिएन तर अहिले त हरेक दिन मोटर ओहोरदोहोर गर्ने भइसक्यो ।” गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदी पावर कम्पनीको साझेदारीमा यस वर्ष अजिङ्गर भिरमा सडक निर्माण गरिएको हो । कडा चट्टानको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी यस वर्ष करीब ८०० मिटर सडक बनेपछि ट्र्याक निर्माणले पूर्णता पाएको हो ।

यसअघि घुमाउरो बाटो भएर करीब एक दशकअघि नै बेनीदेखि बेग हुँदै चिमखोला पु¥याइएको सडक घ्यासीखर्कसम्म निर्माण गरिसकिएको थियो । तीन वर्षदेखि चिमखोलाबाट दर्मिजा हुँदै अजिङ्गर भिरतर्फ सडकको ट्र्याक खोल्न शुरु गरियो । दुवैतर्फबाट खन्न थालेको सडकको ट्र्याक जोडिएसँगै अक्करे पहाड ‘अजिङ्गर भिर’ भएर सवारी साधन ओहोरदोहोर गर्न शुरु गरेका छन् । दैनिकरुपमा जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेसँगै दुर्गम बस्तीका रुपमा रहेका चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले राहतको महसुस गरेको रघुगङ्गा–८ कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

“सिधा यातायातले जोडिएसँगै गाउँपालिकाको केन्द्र र सदरमुकाम आउनजान सहज भएको छ, हिजोका दिनमा सदरमुकाममा काम पर्दा कम्तीमा दुईदेखि तीन दिन लाग्थ्यो, अब घरबाटै बेनी आएर आफ्नो काम सकेर पुनः सोही दिन घरमै पुग्ने अवस्था सिर्जना भएको छ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । यसअघि यस क्षेत्रका नागरिकले सदरमुकामदेखि अजिङ्गर भिर नजीकसम्म मात्रै सवारी यात्रा गर्ने र त्यहाँदेखि पैदल आवतजावत गर्दै आएका थिए । “पहिले खुट्टा अडाएर हिँड्ने ठाउँसमेत थिएन, खर र डोरी बाँधेर हिँड्नुपथ्र्यो, पछि भिरमा मानिस हिँड्ने पैदलमार्ग बन्यो, अहिले त भिरमा मोटर नै गुड्न थाले, हाम्रै पालामा यसरी भिरमा मोटरबाटो बन्ला भन्ने त लागेकै थिएन”, चिमखोलाका ७० वर्षीय नन्द्रप्रसाद गर्वुजाले खुसः हुँदै भन्नुभयो । पहिले नुन ल्याउन पैदल हिँडेर कास्की नयाँपुलबाट पहिलोपटक गाडी चढेर गएको स्मरण गर्दै गर्वुजाले अहिले आफ्नै घरदैलोमा गाडी आउँदा खुशी लागेको अनुभव सुनाउनुभयो ।

वर्षौंदेखि रोकिएको अजिङ्गर भिरको कडा चट्टान भएको पहाडमा गत वर्षदेखि सडक खन्ने काम शुरु भएको थियो । गत वर्ष विस्फोटक पदार्थको बन्दोबस्त मिलाउन ढिलाइ भएको यस भिरमा यस वर्ष भने लक्ष्यअनुसार नै स्रोत, साधन र जनशक्ति जुटाएर भिरमा सडक निर्माण गरिएको दर्मिजाका स्थानीय युवा सुविन शेरपुञ्जाले बताउनुभयो । “लामो समयदेखिको सपना साकार भएको छ, वडा, गाउँपालिका र तुँदी पावर कम्पनीसँगै प्रदेश र सङ्घीय सरकारको समेत सहकार्यले दुर्गम गाउँबस्तीमा सडक पुग्न सम्भव भयो, अप्ठ्यारो भिरमा अत्यन्तै जोखिम मोलेर सडकमा काम गर्नेहरूको योगदान पनि अतुलनीय छ”, शेरपुञ्जाले थप्नुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेको सडक अक्करे पहाडका कारण अघि बढ्न सकेको थिएन । विगतका वर्षमा दग्नामदेखि चिमखोला जोड्ने सडकमा स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारको समेत साझेदारी भए पनि यस वर्ष मुख्य भिर छिचोल्ने योजनामा गाउँपालिका र जलविद्युत् निर्माण कम्पनी तुँदी पावर कम्पनीले सहकार्य गरेका हुन् । यस भिरलाई लक्षित गरी चालू आर्थिक वर्षमा वडा नं ७ चिमखोला र ८ नं वडा कुइनेमङ्गलेको गौरवको योजनाका रुपमा रु एक करोड र ४ को २५ लाख बजेट परिचालन गरिएको र गाउँपालिकाको बजेट बराबर तुँदी पावर कम्पनीले साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सडकखण्डमा सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत अहिलेसम्म करीब रु तीन करोड भन्दा बढी बजेट खर्च भइसकेको सुवेदीले बताउनुभयो । गाउँपालिकामार्फत विनियोजन भएको बजेटमध्ये रु एक करोड बजेटलाई प्रदीप पाइजाको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमार्फत काम गरिएको हो । चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण गर्न लागेको तुँदी पावर कम्पनीसँग साझेदार गरेपछि अक्करे भिरमा सडक निर्माण गर्न सहज भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो ।

बेग हुँदै चिमखोला पु¥याइएको सडक घुमाउरो भएकाले ट्र्याक्टरमार्फत सामान ढुवानी र अत्यावश्यकरुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो छ । अहिले अजिङ्गर भिरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला–घ्याँसीखर्क सडक जम्मा करीब २८ किलोमिटरमै छोटिएको गाउँपालिकाका सब इन्जिनीयर कमल चोखालले बताउनुभयो ।

घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब तीन घण्टामै पार गर्न सकिने भएको छ ।

“हिजो खाद्यान्न खच्चडले बोक्नुपथ्र्यो, ढुवानी खर्च बढी लाग्थ्यो, आज गाडीबाटै ढुवानी सम्भव भएको छ, बजारबाट खाद्यान्न बोकेका गाडीमा गाउँको आलु, सिमी, पशुजन्य उपज निर्यात गर्न सक्ने सुविधा भएको छ, समग्रमा स्थानीयवासीको जनजीवनमा सडकले सकारात्मक प्रभाव पार्नेछ”, स्थानीय युवा गणेश पुन बताउनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button