तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोभिड–१९ को व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो

मनिला। कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए । पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसदलाई जानकारी दिनुभयो ।

उहाँले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताउनुभयो ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको संख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको बताउनुभयो ।

फिलिपिन्सको तथ्याँक विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उहाँले बताउनुभयो ।

कोरोनाभाइरस महामारीका कारण फिलिपिन्स सहित छिमेकी देशहरुमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संख्यामा मानिसहरु अन्यत्र पलायन हुन बाध्य भएका थिए ।

हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ ।

लकडाउन र अन्य प्रतिबन्धहरुका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब ५ लाख २९ हजार संक्रमित भएका र तीमध्ये १० हजार ८७४ जनाको मृत्यु भएको थियो ।रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button