तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर, झापा । झापामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८, बिरिङ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार विहान दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा बा७९प ७८८५ मोटरसाइकल चालक शिवसताक्षी–९ का २३ वर्षीय करण कार्कीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे११ ५७६७ नम्बरको मोटरसाइकसँग पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका कार्कीको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते कार्कीको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको सिलिगुडी लैजान क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल चालक दमक–५ का ४५ वर्षीय भीमबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी विर्तामोडमा मागिखाने ३२ वर्षीय सागर मिश्रको बसको ठक्करले दिउँसो मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई पश्चिम बसस्टेण्डको राजमार्गमा ठक्कर दिएको थियो ।

बसका चालक विर्तामोड–७ का ३८ वर्षीय रबि पाठकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button