तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारको पहिलो आवधिक योजना सार्वजनिक

जनकपुरधाम । प्रदेश नंं २ को प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक आज सार्वजनिक गरेको छ ।

नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा आयोगका अध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ बेसिक एन्ड स्टेटेजिक अपरेसन्स फर प्रोभिन्स टु सार्वजनिक गर्नुभएको हो ।

दुवै पुस्तक सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री राउतले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्षभित्र गर्नुपर्ने विकासको लक्ष्य निर्धारण गरेकाले आगामी दिनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेश २ सरकारको गौरवको योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेशको गौरवकै योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको उल्लेख गर्दै यसबाट प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुधारमा महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेशको शैक्षिक सुधार गर्नका लागि सङ्घीय नीति बाधक रहेको दाबी गर्दै विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा यसमा बढोत्तरी गरेर प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारीमा प्रदेश सरकार भएको बताउनुभयो ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आवधिक योजना सार्वजनिक गरेको आयोगले अब केही महिनाभित्रै प्रोजेक्ट बैङ्क सार्वजनिक गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुवाडी, कानुन सचिव टिकाराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button