२०७९ साल असार १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापाको भद्रपुर नाकामा सशस्त्रको बीओपी स्थापना

रोहित काफ्ले २०७७ माघ २० गते १३:१५

भद्रपुर, झापा। झापाको सदरमुकाम भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । लामो समयदेखि प्रयोगविहीन भद्रपुर–५ मेची नदी किनारस्थित सार्वजनिक मलामी विश्राम भवनमा बीओपी स्थापना गरिएको हो ।

सो अस्थायी बीओपीको आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका वाहिनीपति वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।यस वर्ष झापाका पाठामारी, ज्यामिरगढी र भद्रपुरमा गरी तीनवटा नयाँ बीओपी स्थापना भएको छ । प्रदेश १ मा अहिले ४२ वटा बीओपी स्थापना भइसकेको छ ।

झापाका प्रजिअ तिमिल्सिनाले झापाको १४४.२ किलोमिटर खुला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न र सीमा सुरक्षामा भद्रपुरको बीओपीले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।योसँगै झापाको बाहुनडाँगी, काँकरभिट्टा, पृथ्वीनगर, केचना, घेराबारी, भागुडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बीओपी स्थापना भइसकेको र तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थापाडा र गौरादहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

भद्रपुरमा स्थापना गरिएको अस्थायी बीओपीलाई स्थायित्व दिन मेची पूलपारि भद्रपुर नगरपालिका कार्यालयले एक बिघा जग्गा दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिनुभयो । उहाँले बीओपीमा २७ जना सशस्त्र प्रहरीको दरबन्दी रहेको बताउनु भयो ।

सम्बन्धित