तपाईँ सुन्दै हुनुहुन्छः

सडक पुगेसँगै बजार विस्तारः स्थानीय उत्पादन बिक्रीमा सहज

दार्चुला। पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो ।

बिटुले पारिबगर सडक खण्ड विस्तार भएसँगै बजार मार्मा गाउँपालिका–१ पारिबगर हुन गयो । यहाँसम्म सडकको पहुँच भएसँगै एक घण्टा पैदल दूरी घटेको थियो ।पारिबगरबाट माथिल्लो क्षेत्र सडक उक्लिन भने निकै समय लाग्यो । गत वर्षको अन्त्यतिर मात्रै अपि हिमाल गाउँपालिकाको मकरीगाडमा सडक मार्गको पहुँच पुग्यो । अस्थायी ट्याक खुलेपछि अहिले साविकको घुसा खण्डेश्वरीका स्थानीयवासीलाई खाद्यान्नलगायतका उपभोग्य वस्तु लिन सहज भएको छ ।

अपि हिमाल–१ का स्थानीयवासी ललितसिंह लोथ्याल विकट गाउँ वस्तीमा सडकको पहुँच विस्तार हुँदै गएपछि यहाँका स्थानीयवासीलाई अहिले बजार आउजाउ गर्न सहज बनेको बताउनुहुन्छ । सदरमुकाम खलङ्गाबाट २३ कोष टाढा रहेको अपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित रुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयवासीको उत्पादनले समेत बजार पाउन थालेको छ । मल्देश भनेर चिनिने अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म जीपलगायत अन्य साना ठूला यातायातका साधन चल्न थालेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको हो ।

स्थानीय सरकारको गठनपछि भौतिक विकास निर्माणले केही रुपमा भए पनि गति लिएको अपि हिमालवासीले महसुस गरेका छन् । विकासको लागि सबै पूर्वाधार आवश्क परे पनि तीमध्यको सडक भनेको पहिलो आवश्यकता थियो अपि हिमालवासीको लागि । अहिले दार्चुलाका अधिकांश ग्रामीण बस्तीमा उत्पादित कृषि उपजले सहजरुपमा बजार पाउन थालेको छ ।

प्रत्येक बस्तीमा सडक पु¥याउने अपि हिमाल गाउँपालिकाको प्राथमिकताअनुसार ५ नम्बर वडाको मकरीगाडसम्म सडक पुगेको छ । पहिले गोरेटो बाटो भएको यस मकरीगाडमा स्थानीय सरकार आएपछि मात्रै सडक पुगेको हो । सडक पुगेपछि अपि हिमाल गाउँपालिकाको आलु, राजमा, प्याज, गोलभेंडालगायतले राम्रो मूल्य पाउन थालेको छ ।

गाउँमा उत्पादन भएको आलु मकरीगाडमै ५० रुपैयाँ किलोमा बिक्री हुने गरेको कृषक बताउँछन् । “अहिले सडक नपुगेको भए यहाँका किसानले यतिको मूल्य पाउने थिएनौँ’’, शिक्षक गोवद्र्धनसिंह धामीले भन्नुभयो । लटिनाथ बोकेर पु¥याउन सम्भव थिएन्, सडक सुविधा पुगेपछि उत्पादनको राम्रो मूल्य पाएको उहाँको भनाइ छ । गाउँमा पाइने दलहन बाली खरीद गर्न व्यापारी गाउँमै आउन थालेका छन् । विकासको लागि सडक चाहिन्छ भन्ने यसले पनि पुष्टि गरेको छ, शिक्षक धामीले भन्नुभयो ।

हालसम्म गाउँपालिकाका छ वडामध्ये एउटा वडामा पनि सडक सञ्जाल नजोडिएको अपि हिमाल गाउँपालिकाले अहिले अन्य पाँच वडामा सडक विस्तारको काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो, “सबै वडामा सडक विस्तार गर्ने योजना छ, ढिलो चाँडो सडक पुग्छ ।”

पहिले गाउँमा उत्पादन गरिएको आलु, सागपात, सिमीलगायत अन्य कृषि उपज सडक नहुँदा गाउँमै थन्किन्थ्यो, अपि हिमाल गाउँपालिकाको मकरीगाडका व्यापारी देवसिंह धामीले भन्नुभयो, “तर अब भने, बजारमा पु¥याउन सहज भएको छ ।” अहिले स्थानीयवासीले बिहानै मकरीगाडसम्म खच्चड र भरियामार्फत आफ्नो उत्पादन मकरीगाड बजारमा बिक्री गर्ने गरेका छन् ।

विगतमा लटिनाथसम्म पु¥याउनुपर्ने उत्पादन अहिले सहजरुपमा मकरीगाडमा बिक्री हुँदा उत्पादनको मूल्य पाउन थालेका छन् । अहिले ती विकट भनेर चिनिने बस्ती पुग्न अहिले सदरमुकाम खलङ्गाबाट पाँच÷छ घण्टामै पुगिन्छ । सडक पुगेपछि अपि हिमालका स्थानीयवासीले सुगमताको अनुभव गर्न थालेका छन् । मकरीगाडमा सडक पुगेपछि अहिले बजार विस्तार भएको छ ।

अपि हिमाल गाउँपालिकाको वडा नं १, २, ३ र ४ मकरीगाडभन्दा माथिका बस्ती हुन् भने वडा नं ५ को विगतदेखिको बजार मकरीगाड नै हो । अहिले यो क्षेत्रमा दिनहँु होटल तथा पसल खुल्ने क्रम बढेको बताउनुहुन्छ, मकरीगाडका व्यापारी विसनसिंह धामी । मकरीगाडमा दुई दर्जन बढी साना–ठूला होटल तथा पसल सञ्चालनमा रहेका छन् ।

पाँच वडाको संयुक्त बजार मकरीगाड क्षेत्र बनेको छ । मकरीगाडमै मकरीगाड जलविद्युत् आयोजनाले १० मेगावाट जलविद्युत् उत्पादन गरेको छ । विद्युत् उत्पादन क्षेत्र भएको हुँदा यो क्षेत्रमा चहलपहल पनि निकै बढेको छ । सयौं युवाले जलविद्युत् आयोजनामा रोजगारी पाएका छन् । मकरीगाड क्षेत्रमा विस्तार भएको बजारका कारण व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button