तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ११९९ जनाले कोभिड विरुद्धको खोप लगाए, ’खोप लगाउनेमा छैन कुनै समस्या’

तनहुँ । तनहुँका १ हजार १९९ जना अग्रपंक्तिमा खटिनेहरु (फ्रन्टलाइनर्स)ले कोभिड(१९ विरुद्धको खोप लगाएका छन् । खोप अभियानको छैठौ दिन सोमबारसम्म जिल्लाका विभिन्न स्थानीय तहका १ हजार १९९ जनाले कोभिड विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

दमौलीमा तीन वटा खोप केन्द्र खडा गरी कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिएकोमा सोमबार मात्रै ८० जनाले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य छ ।

तनहुँको व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषि गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपालिकाका २६७, भिमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँवुखैरेनी गाउँपालिकाका ७३, बन्दिपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइदैछ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायतलाई यो खोप लगाइएको हो ।

जिल्लामा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप गत मंगलबार आइपुगेको हो । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप मध्ये १८९ भायल खोप आएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक भायलबाट १० जनालाई खोप लगाउन सकिन्छ ।

कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ ।

खोप लगाएकालाई कुनै समस्या नदेखिएको प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button