तपाईँ सुन्दै हुनुहुन्छः

साबिक विजेता एपीएफको फराकिलो जित

काठमाडौँ । साबिक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गर्नुभयो । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गर्नुभयो । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।

यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो । यो जीतसँगै एपीएफले लिगमा लगातार छैटौँ जित निकालेको छ । एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । एपीएफ शीर्ष स्थानमा यथावत् रहेको छ । चौदण्डीको यो लगातार छैटौँ हार हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गर्नुभयो । यस्तै विमला चौधरीले दुई गोल गर्दा रश्मि घिसिङ र विमला विकले एक एक गोल गर्नुभयो ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मी यो तेस्रो जित हो । आर्मीले ५ खेलमा १० अङ्क जोडेको छ । विराटनगर ७ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button