तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै घरमा लागेको आगोमा जलेर झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । झापाको कचनकवलमा एक घरमा अचानक भएको आगलागीमा परी जलेर एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घरभित्रै सुतेका कचनकवल गाउँपालिका–१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक तले काठको खम्बा टिनको बेरा र टिनकै छानो भएको घरमा आज बिहान अचानक आगलागी भएको थियो ।

आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ, भने एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रासमेत जलेर मरेको प्रहरीले जनाएको छ ।

घरमा आगो लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय र प्रहरीको सहयोगमा भद्रपुर र बिर्तामोड नगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

घरमा के कारणले आगो लागेको भन्ने खुलेको छैन । मानवीय र पशुको क्षतिबाहेक अन्य विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

घर जलेपछि राजवंशी परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button