२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको समृद्धिका लागि भूमिका निर्वाह गर्न प्रदेश प्रमुख प्रसाईँको आग्रह

विश्व अधिकारी २०७७ माघ १८ गते २०:२४

मकवानपुर । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले प्रदेशको समृद्धिका लागि सबैले आ–आफ्नो स्थानबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

प्रदेशसभाको तेस्रो वार्षिकोत्सवमा उहाँले प्रदेश सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर विकास, पूर्वाधार र आर्थिक समृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयता स्थापित गर्ने दलहरू आपसी वादविवाद त्यागेर जनता र राष्ट्रप्रति जबाफदेही हुन सकेमात्र प्रजातन्त्रको भविष्य उज्ज्वल हुने धारणा राख्नुभयो ।

वार्षिकोत्सवका अवसरमा वाग्मती प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने ७ सदस्यलाई सम्मानित गरिएको थियो ।

वार्षिकोत्सवका अवसरमा प्रदेश सभाका सदस्यहरु गोमा भुर्तेल, वसन्तप्रसाद मानन्धर, चन्द्रबहादुर लामा, सीता अधिकारी, पार्वती सिलवाल, रमेशप्रसाद पौडेल र नरोत्तम वैद्यलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सचिवालयका पूर्व सचिव रामशरण घिमिरे, अधिकृतहरू शान्तप्रसाद भुजु, सुन्दर पन्त, मीना तिमल्सिना, दामोदर घिमिरे र उपमर्यादा पालकहरू नीराजन ढकाल, लक्ष्मी विष्ट र प्रहरीतर्फ योगेन्द्र थापा मगरलाई समेत सम्मानित गरिएको थियो ।

प्रदेश सभा सदस्यहरूलाई दोसल्ला र प्रशंसा पत्रसहित सम्मान गरिएको थियो भने अन्यलाई नगद, दोसल्ला र कदर पत्रसहित सम्मानित गरिएको थियो ।

उहाँहरूलाई प्रदेश प्रमुख प्रसाईँ, मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित