तपाईँ सुन्दै हुनुहुन्छः

सबै लक्षित व्यक्तिहरूलाई कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । कोरोनाविरुद्धको खोप सबै लक्षित व्यक्तिहरूलाई लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले हाल प्रयोग गरिएको कोभिड शिल्ड खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भइसकेकाले खोप अभियानको प्राथमिकतामा परेका सबै व्यक्तिहरूलाई आ–आफ्नो पालोमा खोप लगाउन आग्रह गर्नुभयो ।

डा. गौतमले खोप लगाइसकेपछि केही व्यक्तिहरूमा देखिएका सामान्य असरहरूका सबै लक्षणहरू केही समयभित्रै ठिक हुने गरेको र हालसम्म कुनै गम्भीर असर नभेटिएको समेत जानकारी दिनुभयो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय ८८ जना निको भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ३ प्रतिशत कोरोना संक्रमित निको भइसकेका हुन् ।

यस्तै आज देशभर ३ हजार ३ सय ८ वटा नमुना परिक्षण गर्दा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार २९ पुगेको छ ।

२ हजार ५ सय ९४ सक्रिय संक्रमित मध्ये १ सय ४३ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button