तपाईँ सुन्दै हुनुहुन्छः

दुहुना गाई उपहार पाउन थालेपछि बसाइँ सरी आउने क्रम बढ्यो 

धनकुटा । सामान्यतया मान्छेहरू गाउँ छाडेर सहर पस्ने गर्दछन् तर धनकुटाको छथर जोरपाटी गाउँपालिकामा भने नगर छाडेर गाउँमा बसाई सरेर आउने क्रम बढ्न थालेको छ ।

बाँझो जमिन सदुपयोग गर्न तथा बसाँइसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रम सञ्चालनमा ल्याएपछि जिल्लाका नगर र अन्य जिल्लाहरूबाट गाउँमा कृषि कर्म गर्न बसाइँ आउन थालेका हुन् ।

गत आर्थिक वर्ष ०७६–०७७ बाट पालिकाले सञ्चालन गरेको ‘जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान’कार्यक्रम सुरु गरेको थियो ।

उक्त कार्यक्रम सञ्चालनमा आएपछि गत वर्ष जिल्लाका ३ नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिवार छथर जोरपाटी बसाई सरेर आएका थिए ।

पशुपन्छी विकास शाखा अधिकृत राजकुमार राइका अनुसार धनकुटा नगरपालिका, पख्रिबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट गत वर्ष ९ परिवार बसाई आएका थिए ।

यस वर्ष गएको पुस २५ गते पालिकाले आव्हान गरेको सार्वजनिक सूचनापछि ४ परिवारले बसाइँ आउन आवेदन गरेको राईले जानकारी दिएको छ ।

माघ १५ गतेसम्म समय सीमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट २, महालक्ष्मी नगरपालिका धनकुटाबाट १ जना र सङ्खुवासभाको  मादी नगरपालिकाबाट १ जनाले आवेदन दिएको राईले जानकारी दिनुभयो ।

पालिकाले रीतपूर्वक बसाइँ सरी आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार अनुदान दिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button