तपाईँ सुन्दै हुनुहुन्छः

ड्राईपोर्ट भन्सारमा ५ सय खाली कन्टेनर अलपत्र

वीरगञ्ज । कोरोना महामारीको बेला सामान बोकेर आएका झन्डै ५ सय कन्टेनरहरू भारतीय रेल्वेले नलैजाँदा वीरगन्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियामा अलपत्र परेका छन् ।

भारतीय रेल्वेले कन्टेनर लैजानका लागि खाली रेल कोलकात्ता र विशाखापट्टनमको लागि नपटाइदिँदा विगत ६ महिनादेखि ड्राईपोर्ट भन्सार वीरगञ्जको यार्डमा कन्टेनरहरू थन्किएका छन् । खाली कन्टेनरको कारण भन्सार यार्डमा कन्टेनरको जाम बढेको छ भने व्यवसायीलाई मालसामान लोड अनलोडमा समस्या भइरहेको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले ६ महिनासम्म खाली कन्टेनर पठाउन नसक्दा ड्राईपोर्ट भन्सारमा कन्टेनरको चाङ लागेको र यसबारेमा ड्राईपोर्ट सञ्चालन कम्पनीले चाडै पहल गरी खाली कन्टेनर फिर्ता पठाएर यार्ड खाली गराउने तर्फ अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

कोरोना महामारीको बेला गत साउनदेखि असारसम्म तेस्रो मुलुकबाट आयातित सामान भारतको कोलकात्ता र विशाखापट्टनम हुँदै वीरगञ्ज आउने गरेकोमा अहिले खाली कन्टेनर भारतीय रेल्वेले नलैजाँदा समस्या भएको बताइएको छ ।

अहिले ड्राईपोर्ट भन्सारमा दैनिक २,३ वटा मालवाहक रेल आउने गरेको भएपनि उनीहरूले लिएर आएको माल सामानको खाली कन्टेनर मात्र लैजाने गर्दा कोरोना सङ्क्रमणको बेला अड्केर बसेका कन्टेनर ड्राईपोर्ट भन्सारमा रहेको श्रीसिया सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूणमणि शर्मा कट्टेलले बताउनुभयो ।

यस विषयमा ड्राईपोर्ट भन्सार सञ्चालन गर्ने कम्पनी प्रिष्टिन भ्याली प्रालिका चिफ अपरेसन हेड अतुल शर्माले हाल ड्राईपोर्टमा थन्किएका ५ सय कन्टेनरको लागि नेपाल इन्टर मोडेल यातायात विकास समिति र भारतीय रेल्वेको भगिनी संस्था कन्करलाई पत्र लेखी खाली रेलको लागि माग गरेको र खाली रेल आउने बित्तिकै बन्दरगाहमा रहेका कन्टेनर पठाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button