२०७९ साल असार १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा मापसे गरी गाडी चलाउँदै अधिकांश चालक

सागर परियार २०७७ माघ १८ गते १७:३१

शनिवार राती ८ः०० बजे सवारी अनुगमनमा गएको सिडिओको टोली । तस्बिर : सागर परियार ।

जुम्ला । पछिल्लो समय कर्णाली राजमार्गका अधिकांश चालकहरूले रातिको समयमा मदिरा सेवा गरी सवारी चलाउने गरेको पाइएको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा चलाउने ठुला तथा साना सवारीका अधिकांश चालकले रातिको समयमा मापसे गरेरै सवारी चलाउने गरेको पाइएको हो ।

शनिवार राती ८ बजे प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चन्दननाथ नगरपालिका–९ उम्गाड नजिक गरेको सवारी अनुगमनमा अधिकांश चालकले मापसे गरेर सवारी चलाएको भेटिएका थिए । अनुगमन गर्ने क्रममा मापसेगरी सवारी चलाएका पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवीन थापा मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शनिवार राती मापसे गरी जिप, अटो तथा मोटरसाइकल चलाएका चार जना र एक जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिएको हो ।

प्रशासनमा प्रतिव्यक्ति एक हजार र ट्राफिकमा मापसे गरी सवारी चलाए बापतको जरिवाना बुझाएर छोडिएको छ ।” शनिवार राति नै मापसे गरी बालुवा बोकेर ल्याएको एक जना ट्याक्टर चालक भने भागेको उहाँको भनाई छ ।

साइट नछोड्ने, ट्राफिक नियमित विपरीत ओभरटेक गर्ने, कागजात बिनै मापसेको तालमा द्रुत गतिमा सवारी चलाउने चालककै कारण दुर्घटना बढेका छन् । भने अर्को तर्फ स्थानीयले सडकमै मनपरी रुपमा निर्माण सामाग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले रातीको समयमा ट्राफिक जाँच नहुने र चालकहरूले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठुला दुर्घटना भएका छन् ।

जुम्लामा पनि यस्तो समस्या देखियो । अब नियमित चेक जाँचलाई कडा गर्नुको  विकल्प नरहेको प्रजिअ थापाको भनाई छ ।

उहाँले भन्नुभयो, “कर्णाली राजमार्गमा चालकको लापरबाही र निर्माण सामाग्री मनपरी रुपमा राख्दा दुर्घटना बढेको छ । चेक जाँचमा कडाइ र सडक अतिक्रमण गर्नेहरूलाई पनि नियमन गर्ने तयारीमा छौ ।”

मापसे जाँच गर्ने मेसिन छैन
जुम्लामा मापसे गरेर सवारी चलाउने चालकहरूको सङ्ख्या बढ्दै छ । रातिको समयमा मापसे गर्ने ओभर स्पिड गाडी कुदाउने गरेकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर जुम्लामा भने, मापसे जाँच गर्ने मेसिन नभएको पाइएको छ ।

ट्राफिक कार्यालयका प्रहरी हवलदार कुशराज शाहीका अनुसार मापसे गर्ने (बे्रथ लाइजर) मेसिन जुम्लामा छैन । चालकहरूको लापरबाही बढेपछि अहिले तीन वटा मेसिन माग गरिएको उहाँको भनाई छ । हालका लागि मेसिन नहुँदा जेचजाँच प्रभावित भएको छ । मेसिन बिना हचुवाको भरमा जाँच नहुने बताइएको छ ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हाल सम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालकहरूकै लापरबाहीका कारण बढी सवारी दुर्घटना भएको हवलदार शाहीले बताउनुभयो । उहाँका अनुसार १४ वटा दुर्घटनामा परी २७ जना घाइते र २ जनाको मृत्यु भएको छ ।

यी सबै दुर्घटनाका कारण चालक नै हुन् । मापसे गर्ने, ओभर स्पिड चलाउने, क्षमताभन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रण लिन नियमित जाँचमा कडाइ गरिने उहाँको भनाई छ ।

चालु आवको हालसम्म कारबाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित