तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहका कर्मचारीलाई क्षमता विकास तालिम

भोजपुर । स्थानीय तहका कर्मचारीका लागि भोजपुरमा दुई दिने लैङ्गिक तथ्याङ्क निर्माण, व्यवस्थापन र रिपोर्टिङ सम्बन्धी क्षमता विकास तालिम सुरु भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा कार्यरत कर्मचारीका लागि तालिम सञ्चालन भएको हो ।

भोजपुर नगरपालिकाको समन्वयमा भएको तालिममा स्थानीय तहमा कार्यरत दुई/दुई जना कर्मचारीको सहभागिता रहेको मन्त्रालयका अधिकृत गोमा वाग्लेले जानकारी दिनुभयो ।

मन्त्रालयका उपसचिव भरतराज शर्माले स्थानीय तहहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकका क्षेत्रमा कार्य गर्दे आइरहेको भए पनि सम्बन्धित मन्त्रालयमा तथ्याङ्क पुग्न नसकेको बताउनुभयो ।

प्रदेश नम्बर १ को भोजपुरमा मन्त्रालयले पहिलो पटक स्थानीय तहमा कार्यरत कर्मचारीका लागि तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले तालिमको उद्घाटन गर्नुहुँदै तीन तहको सरकारका बिचमा समन्वय हुन नसक्दा समस्या देखिएको बताउँदै नेतृत्वकर्ताले जिम्मेवारी बोध गर्नु पर्ने बताउनुभयो । स्थानीय तहका कर्मचारीका लागि सञ्चालन गरिएको तालिम महत्त्वपूर्ण भएको मेयर आलेले बताउनुभयो ।

कार्यक्रममा उपमेयर ममिता राई, जिल्ला तथ्याङ्क कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइराला, भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल लगायतले नीति निर्माणको लागि समेत तथ्याङ्क आवश्यक हुने भएकाले आफूले गरेका कार्यहरूको तथ्याङ्क माथिल्लो तहमा पुर्‍याउन सके मात्र त्यसले बालबालिका, महिला, ज्येष्ठ नागरिकका कार्यक्रम निर्माणमा सहयोग पुग्ने बताउनु भएको थियो ।

तालिम सोमवारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button