तपाईँ सुन्दै हुनुहुन्छः

अलैंंचीको समस्या समाधान गर्न सरोकारवाला प्रतिबद्ध

भद्रपुर, झापा । सरोकारवालाहरूले बहुमूल्य नगदे कृषि बाली अलैँचीलाई तेस्रो देश निर्यातका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केही वर्षयता अलैँचीको मूल्यमा लगातार गिरावट हुँदा किसान तथा व्यवसायी निराश बनिरहेका बेला शनिबार झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा सरकारी तथा निजी क्षेत्रले संयुक्त रुपमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाली अलैँचीको ठुलो हिस्सा भारतमा मात्र निकासी हुने गरेको र भारतीय व्यवसायीले तोकेको मूल्यमा अलैँची बिक्री गर्नुपर्ने बाध्यता रहेकोमा संयुक्त रुपमा वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोज्न सरकारी र निजी क्षेत्र अग्रसर भएको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले बताउनु भयो  ।
नेपाल अलैँची व्यवसायी महासङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा आयोजित अलैँची निर्यातका समस्या र समाधान विषयक अन्तरक्रियामा सहभागी अलैँची व्यवसायीहरूले अलैँचीको मूल्यमा आएको गिरावटबाट परेको प्रभाव र निर्यात व्यापारमा भोग्दै आएको समस्याका बारेमा कुरा राख्नुभएको थियो ।
उनीहरूले अब पनि निर्यातमा विकल्प नखोज्ने हो भने अलैँचीको उत्पादन र व्यवसाय धराशायी हुने एवम् अलैँची खेतीबाट किसान व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गा भुसालले सहभागीहरूको गुनासा–समस्या सुनेपछि अलैँचीको क्षेत्रमा सरकारको तर्फबाट थप योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि अलैँचीको वैकल्पिक बजार खोजीका लागि महासङ्घले सक्रिय सहयोग गर्ने बताउनु भयो ।
नेपालमा वार्षिक सरदर ५ लाख केजी अलैँची उत्पादन हुँदै आएको छ । अलैँची निर्यातबाट लगभग ५ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिने गरेको महासङ्घका महासचिव सुवास भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button