तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १ सय २६ जना कुष्ठरोगका बिरामी उपचाररत 

रुपन्देही ।  रुपन्देहीमा आर्थिक वर्ष २०७६/२०७७ को अन्त्यसम्ममा १ सय २६ जना कुष्ठरोगका बिरामीहरू उपचारमा रहेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय तथा कुष्ठरोग निरीक्षक टिकाराम अधिकारीले गत आर्थिक वर्षमा १ सय २१ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षका कार्तिक मसान्तसम्ममा ४६ जना नयाँ बिरामी पत्ता लागिसकेका छन् ।

रुपन्देहीमा सबैभन्दा बढी कुष्ठरोगका बिरामीहरू बुटवल उपमहानगर पालिकामा रहेका छन् ।  बुटवलमा आर्थिक बर्ष २०७६/०७७ मा २१ जना नयाँ बिरामी पत्ता लागेका थिए ।

यस्तै तिलोत्तमामा २०, सिद्धार्थनगर नगर पालिकामा १३, सैनामैना नगरपालिकामा १० र देवदह नगरपालिकामा ८ जना नयाँ बिरामी पत्ता लागेका थिए ।

नेपालबाटै कुष्ठरोग निवारण भए पनि लुम्बिनी प्रदेशको सबैभन्दा सुगम जिल्ला रुपन्देही अझै पनि कुष्ठरोगकै चपेटामा परेको छ ।

देश कुष्ठरोगबाट निवारण भए पनि रुपन्देहीमा अझै पनि कुष्ठरोग निवारण गर्न बाँकी नै रहेको छ । २०६६ साल माघ महिनामा नेपाल कुष्ठरोग निवारण भएको देशको रुपमा आफूलाई घोषणा गरेको थियो ।

सामान्यतः जिल्लामा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम गर्ने लक्ष्य रहेको नेपालले यो लक्ष्य प्राप्त गरी मुलुक कुष्ठरोग निवारण भइसकेको छ ।

तर रुपन्देहीमा यो दर १ दशमलव १९ रहेकाले कुष्ठरोग निवारण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भनाइ छ ।

राष्ट्रिय स्तरमा यो दर शून्य दशमलव ६९ रहेकोले नेपाल कुष्ठरोग निवारण घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button