तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती क्षेत्रमा अन्तर जिल्ला अपराध न्यूनीकरण अभियान 

सीमावर्ती बजार नाग्ममा अन्तर जिल्ला अपराध न्यूनीकरण सचेतना कार्यक्रम । तस्बिरः सागर परियार ।
जुम्ला । माथिल्लो कर्णालीका तीन जिल्लाको सीमावर्ती क्षेत्र नाग्म बजारमा पहिलो पटक अन्तर जिल्ला अपराध न्यूनीकरण सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा कालिकोट, मुगु र जुम्लाको सीमावर्ती क्षेत्र नाग्म बजारमा शनिवार रयाली सहित सचेतना कार्यक्रम गरिएको हो ।
तीन जिल्ला प्रवेशको मध्य विन्दु नाग्म बजारमा सयौँ स्थानीय व्यापारी, युवाको सहभागिता र जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा बजार भरी अपराध न्यूनीकरण सम्बन्धी रयाली निकालिएको थियो ।
आपराधिक गतिविधिको प्रवेश विन्दु भनेकै सीमा क्षेत्र भएकाले बेला–बेला सचेतनामूलक कार्यक्रम गर्नुपर्ने स्थानीयको जोड रहेको छ ।
कर्णालीमा सडकको विकाससँगै आपराधिक गतिविधिहरू पनि ह्वात्तै बढेकाले सीमावर्ती बजारमा सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“व्यापार गर्ने सिलसिलामा,रोजगारीको खोजीमा सीमा प्रवेश गर्ने व्यक्ति आपराधिक प्रवृत्तिका हुन सक्छन् । लागु औषध पनि भित्राउन सक्ने भएकाले प्रहरीले चेक जाँचमा कडाइ गर्नु पर्ने र व्यापारीहरू पनि सचेत बन्नु पर्ने देखिन्छ ।”
जुम्ला, कालिकोट र मुगुमा सडकको विकाससँगै सहरीकरण पनि बढेको छ । भने सँगै लागु औषध दुर्व्यसनी पनि बढ्दै छ । हत्या हिंसा,बलात्कार, चेलीबेटी बेचबिखन, चोरी सिकारी जस्ता गतिविधि बढेका छन् । जसका कारण समाजमा शान्ति सुरक्षा कायम बाधा पुगेको प्रजिअ थापाको भनाई छ ।
उहाँले भन्नुभयो, “जहाँ अपराध हुन्छ त्यहाँ शान्ति सुरक्षाको महसुस  हुदैन् । त्यसैले शान्ति सुरक्षा, सुशासन कायम गर्न अपराध न्यूनीकरण आवश्यक छ । सडकको विकास र बढ्दो सहरीकरणले अपराधका घटना बढेका छन् । विभिन्न अपराधबाट समाजलाई जोगाउन सबै पक्ष सचेत हुन जरुरी छ ।”
सीमावर्ती बजार नाग्ममा अन्तर जिल्ला अपराध न्यूनीकरण सचेतना कार्यक्रम । तस्बिरः सागर परियार ।
समाजलाई सभ्य र सुसूचित बनाउन आपराधिक गतिविधिले बाधा पुर्‍याएको उहाँको भनाई छ । गाउँमा व्यापारका नाममा पनि अपराधी प्रवृत्तिका मान्छे आउने भएकाले सचेत हुन उहाँले आग्रह समेत गर्नुभएको छ ।
हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले सडक सञ्जालको प्रयोग बढेसँगै आपराधिक गतिविधि बढिरहेको अवस्थामा समय सान्दर्भिक सचेतना कार्यक्रम भएको बताउनुभयो ।
उहाँले हत्या बलात्कार, घरेलु हिंसा, लागू औषध दुव्र्यषनी, लागू औषध ओसार पसार बढेकोले सुरक्षा सतर्कता बढाउनु पर्नेमा जोड दिनुभयो ।  सीमावर्ती क्षेत्रमा अपराध न्यूनीकरण गर्न स्वयम व्यापारीहरू पनि जिम्मेवार हुनु पर्ने उहाँले तर्क गर्नुभयो ।
तीन जिल्लाको पवेशद्धार नाग्म बजारमा तीनै जिल्लाको समन्वयमा सुरक्षा व्यवस्था कडाइ गर्ने, बेला बेला सचेतनाका कार्यक्रम गरेको खण्डमा अपराध न्यूनीकरण हुँदै जाने तिलागुफा नगरपालिका–१ का वडाध्यक्ष दल बहादुर कटुवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button