२०७९ साल असार १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा बारेकोटको फलाम खानी

बद्री पन्त २०७७ माघ १८ गते ११:१२
जाजरकोट । पुर्खाले सञ्चालनमा ल्याएको जाजरकोट जिल्ला स्थित बारेकोटको फलाम खानी यतिबेला बन्द छ ।
३० वर्ष पहिले बारेकोटमै उत्खनन् र प्रशोधन हुने फलाम खानीको यत्तिखेर नामसमेत सुन्न छाडिएको स्थानीयहरू बताउँछन् ।
पहिला यही खानीको धाउ प्रशोधन गरी जाजरकोट र जुम्ला जिल्लाका अधिकांश गाउँहरूमा विभिन्न कृषि औजारहरू ओदान, तावा, सनासा, चिम्टा, कुटो, कोदाली, फरुवा, फाली, हँसिया, बन्चरा लगायतका सामान बनाइने गरिएपनि अहिले आयातित फलामबाटै ती औजारहरू बनिरहेका छन् ।
बारेकोट गाउँपालिका ५, बाहुनखोला सिलिङ्गिमा रहेको यो खानी पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको स्थानीयहरूको माग छ ।
स्थानीय बीनबहादुर शाह आफ्नै गाउँको फलाम खानी बन्द गरेर आयातित फलाम प्रयोग हुनु दुखद् भएको बताउनुहुन्छ ।
‘पहिले यहाँ २० घर दलित समुदायका परिवारले फलामको काम गर्दै आएका थिए । आजभोलि उनीहरू रोजगार विहीन भए’ शाहले बताउनुभयो  । सस्तो मूल्यमा आयातित फलाम र सस्तोमै औजार गाउँ–घर पुग्न थालेपछि आरनहरू नै बन्द भएको शाहले बताउनुभयो ।
बारेकोटी फलाम महँगो भयो आयातित फलामसँग प्रतिस्पर्धा गर्न सकेन शाहले बताउनुभयो ।
खानीबाट निकालिएको कच्चापदार्थ प्रशोधन गर्ने प्रक्रिया झन्झटिलो , कठिन र महंगोमात्र छैन धेरै परिश्रमसमेत गर्नुपर्ने हुन्छ । अझ परिश्रम अनुसारको मूल्यपनि नभएपछि खानी  प्रयोग विहीन बनेको स्थानीयहरू बताउँछन् ।
स्थानीय काठ दाउराको चारकोलले खानीबाट निकालिएको धाउलाई आरनमा पगालेर फलाम बनाउने गरिन्छ । जसका लागि एक दिन लाग्ने गर्दछ । चारकोलका लागि वनजंगलसमेत मासिँदै गएपछि फलाम खानी बन्द भएको हो ।
बारेकोटी फलाम खानी बन्द हुनुमा वनजंगल विनाश हुनु, आयातित फलामसँग प्रतिस्पर्धा गर्न नसक्नु, फलाम प्रशोधन गर्ने आरनकोठालाई आधुनिकीकरण गर्न नसक्नु जस्ता कारण रहेको बताइन्छ ।
बारेकोट गाउँपालिकामा आर्थिक विकास गरेर समृद्ध गाउँपालिका बनाउन पूर्वाधार विकास गरेर फलाम, बहुमूल्य रत्न पत्थर लगायतका खनिज पदार्थका खानीहरू प्रयोगमा ल्याएर औद्योगिक विकास गर्नु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाई छ ।
गाउँपालिका भित्र रहेका सबै खनिज पदार्थका खानीहरूको अध्ययन, उत्खनन्, प्रशोधन गर्नका लागि कानुनी प्रकृयालाई पुरा गर्नुको साथै यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्नका लागि निजी क्षेत्रसंग साँझेदारी गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ ।
सरकारको खानी तथा भूगर्भ विभागले गरेको अध्ययन तथा सर्वेक्षणबाट नेपालमा ६० प्रकारका खनिज पदार्थका खानी रहेका छन् । अहिले जाजरकोट जिल्लामा १ सय वर्ग किलोमिटर क्षेत्रफलमा बहुमूल्य रत्न पत्थर अन्वेषण गरिए पनि बारेकोटको फलाम खानीको भने अन्वेषण हुन सकेको छैन । यसका लागि सरकारले आवश्यक पहल गर्न आवश्यक छ

सम्बन्धित