तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुको हिमालयन पदमार्ग निर्माणमा तीव्रता

चौतारा। पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ । हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

चालू आर्थिक वर्षमा थप एक हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट रु चार करोडमा बोलपत्र स्वीकृति भएको छ । विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे–जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनीयर सचिन यादवले जानकारी दिनुभयो ।

बहुवर्षीय योजनाअन्तर्गत कूल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करीब रु तीन अर्ब ५० करोड बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । चीनको ग्रेटवालको झझल्को दिने खालको उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ । कडा चट्टानको ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टीमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताउनुभयो ।

निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका–१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुङ्गिनेछ । दोस्रो रुटमा हेलम्बु–६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुङ्गिनेछ । दुवैतिरबाट काम शुरु भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ । सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button