तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन् ।
प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिनुभयो ।

“राजनीतिक विवाद र शसस्त्र द्धन्द्धका कारण मध्य अफ्रिकाका हजारौ मानिस विस्थापित भएका छन्,” नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भन्नुभयो । राजनीतिक विवाद र हिंसात्मक द्धन्द्धका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन । ती मध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उहाँले बताउनु भयो ।

हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिनुभयो । त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उहाँको भनाई छ । राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button