तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको प्राथमिक शेयर बाँडफाँड

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ) को बाँडफाँड शुक्रवार सम्पन्न भएको छ ।

बैङ्कको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको कार्यालयमा शुक्रवार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आवेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोला प्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।

त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् भने ६ हजार २७६ वटा आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बैङ्कले माघ २ गते देखि ६ गते सम्म जारी पुँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो ।

हाल बैङ्कको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आइपिओ बाँडफाँट पश्चात् बैङ्कको चुक्ता पुँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button