तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तला कृषकलाई तालिम

सुन्तला खेतीको तालिम लिदैँ पाल्पाका कृषक । तस्विर : बिष्णु खनाल ।

पाल्पा । पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकहरुलाई सुन्तला जात फलफुल विकास केन्द्र पाल्पाले प्राविधिक ज्ञान सहितको प्रयोगात्मक तालिम दिएको छ । व्यवसायिक सुन्तला खेतीका लागि उर्वर भूमि मानिने पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकहरु र नर्सरी सञ्चालकहरुलाई केन्द्रले प्रयोगात्मक तालिम दिएको हो ।

सुन्तलाको व्यवसायिक खेती गर्दा अपनाउने पर्ने विधि प्रक्रियाका विषयमा तालिम दिइएको थियो । नर्सरी सञ्चालकहरुलाई नर्सरी व्यवस्थापन, बिउको छनोट कलमी कसरी बनाउने विषयमा प्रयोगात्मक तालिम दिइएको केन्द्रले जनाएको छ । कृषकहरुलाई प्रविधिको प्रयोग गरी थप सीप उपलब्ध गराउने उद्देश्यले प्रयोगात्मक तालिम दिइएको हो ।

तालिममा बिजु,बिरुवा, कलमी कसरी बनाउने र नर्सरीको व्यवःथापन गर्दा अपनाउने पर्ने विधि र प्रक्रियाका विषयमा ज्ञान सहित प्रयोगात्मक तालिम प्रदान गरिएको थियो ।

सुन्तला जातका फलफुलको बिरुवा, नर्सरी बनाउने समय भएकाले पनि उनीहरुलाई प्राविधिक ज्ञानको प्रयोगात्मक अभ्यास गराइएको तालिमका मुख्य प्रशिक्षक तथा सुन्तला जात फलफुल विकास केन्द्रका प्रमुख बमबहादुर थापाले बताउनुभयो ।

व्यवहारिक र प्रयोगात्मक अभ्यास भएकाले तालिम निकै फलदायी भएको तालिममा सहभागी पाल्पा रामपुरका कृषक दिलबहादुर थापा र भगवती न्यौपानेको भनाई छ ।

यस क्षेत्रका ८ हजार कृषक परिवारले सुन्तला जात फलफुललाई मुख्य जिविकोपार्जनको माध्यम बनाउदै आएका छन् । सुन्तला जातको फलफुलको खेती परम्परागत भए पनि तलिममा बिउको व्यवस्थापन ,कलमी के हो ? कसरी गर्ने ? जस्ता विषयमा प्रयोगात्मक तालिमले निकै सहयोग पुगेको व्यवसायिक रुपमा सुन्तला जातको खेती र नर्सरीको व्यवस्थापन गर्दै आएका गुल्मी धुर्कोटका कृषक चन्द्रबहादुर विकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button