तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको तयारीमा लाग्न राजनैतिक दललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सङ्घर्षका कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा लग्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आधार नै आवधिक निर्वाचन भएको हुनाले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री बहुमत प्राप्त दलको प्रमुखका हैसियतमा रहेको र अर्को सरकार बन्ने अवस्था समेत नरहेका बेला आफूले संसद् विघटनको प्रस्ताव गरेको हुनाले अहिलेको संविधान अनुसार अब संसद् पुनः स्थापनाको सम्भावना समेत नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्धारित समय भित्रै शान्तिपूर्ण वातावरणमा निष्पक्ष निर्वाचन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र सङ्घीयताको विपक्षमा हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने समेत बताउनुभयो ।

प्रधानमन्त्री आलीले दुई पार्टी एकीकरण गरी नयाँ पार्टी बनाएका कारण पुष्पकमल दाहाल प्रचण्ड समेत अध्यक्ष बन्न पुगेको र आफ्नो निर्णय एवं सहमतिमा अडिन नसक्दा पार्टी पुनः विभाजनको अवस्थामा पुगेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि बनाएको केन्द्रीय कमिटीको बहुमतलाई देखाएर प्रचण्ड पक्षले सधैँ आफ्नो स्वार्थ पुरा गर्न खोजेको र सरकारलाई असफल बनाउन प्रयास गरेको समेत बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी भित्रको विवादका कारण सरकार चल्नै नसक्ने अवस्था आएपछि सरकारसँग नयाँ निर्वाचनका विकल्प नरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button