तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा अज्ञात रोगले बोयर जातका बाख्रा मर्न थाले

अज्ञात रोगले मरेका बोयर जातका बाख्रा । तस्बिरः सागर परियार

जुम्ला । अज्ञात रोगका कारण जुम्लामा व्यावसायिक रुपमा पालन गरिएको बोयर जातका बाख्रा धमाधम मर्न थालेका छन् ।

विगत एक हप्तादेखि बाख्रा मर्न थालेका हुन् । २०६४ सालदेखि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका चन्दननाथ नगरपालिका–३ निवासी भक्तबहादुर कठायतका पाँच दिनभित्र ६ वटा बोयर जातका बाख्रा मरेका छन् । जसबाट करिब साढे दुई लाखको क्षति भएको उहाँले बताउनुभयो ।

प्रति बाख्रा करिब ५० देखि ६० हजारसम्म मूल्य बोयर जातका ६ वटा बाख्रा एकाएक मर्दा करिब साढे दुई लाख बराबरको क्षति भएको व्यवसायी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो,“पाँच दिनमा ६ वटा बाख्रा मरिसके, अझै ६÷७ बाख्रा बिरामी छन् । सम्भवतः सबै मर्ने स्थितिमा पुगेकोले व्यवसाय नै धराप हुने चिन्ता लागेको छ ।” उहाँले आवश्यक राहतका लागि पहल गरिदिन आग्रह समेत गर्नुभएको छ ।

पातलो दिशा गर्ने, काम्ने, रयाल निकाल्ने, झोक्र्याउने, जस्ता लक्षण देखिने र लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । भेटेनरी अस्पतालबाट गएको प्राविधिक टोलीले सुई लगाएर औषधी दिए पनि बाख्रा मर्ने क्रम नरोकिएको व्यवसायी कठायतले उल्लेख गर्नुभयो ।

बिमा नगर्दा, नत राहत पाइयो, नत व्यवसाय उत्थानमा केही उपाय छ । उहाँले बाख्रा पालन व्यवसायलाई निरन्तरता दिनका लागि आवश्यक सहयोग गर्न अपिल समेत गर्नुभएको छ । उन्नत जातको मानिने बोयर जातको भेडा एकाएक मर्दा कठायत चिन्तित हुनुहुन्छ ।

सडक मानवलाई राहत वितरण गर्ने क्रममा ३ नम्बर वडासम्म पुग्नु भएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भक्तबहादुर कठायतको बाख्रा अनुगमन तथा अवलोकन गर्नुभएको छ ।

प्रअिज थापाले बिमा नगर्दा राहत नपाए पनि मुचुल्का गराएर सहयोगका लागि निवेदन दिएमा आवश्यक राहतका लागि पहल गर्ने बताउनुभयो । साथै भविष्यमा हुनसक्ने जोखिम बहनका लागि तत्कालै बाँकी बाख्राहरूको बिमा गर्न समेत आग्रह गर्नुभएको छ ।
फोटो क्याप्सनः अज्ञात रोगले मरेका बोयर जातका बाख्रा । तस्बिरः सागर परियार ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button