तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना परीक्षण गर्दा व्यक्तिको हालको स्थान उल्लेख गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं ।  कोरोना सङ्क्रमण परीक्षण गर्दा व्यक्तिको ठेगाना हाल बसोबास गरिरहेको स्थान उल्लेख गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना सङ्क्रमणको परीक्षणका लागि नमुना सङ्कलन गर्ने क्रममा सम्बन्धित व्यक्तिले हाल बसोबास गरिरहेको स्थानलाई आधार मानेर ठेगाना उल्लेख गर्न सबै प्रयोगशाला, अस्पतालहरूलाई अनुरोध गर्नुभयो ।
प्रा.डा गौतमले विभिन्न निकायहरूले नमुना सङ्कलन गर्दा आ–आफ्नो तरिकाले व्यक्तिको ठेगाना लेख्ने गरेकाले सम्बन्धित व्यक्तिको पहिचान तथा सङ्क्रमण पुष्टि भएका व्यक्तिको  सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न कठिनाइ भएको बताउनुभयो ।
व्यक्तिको ठेगाना उल्लेख गर्दा एकरूपता नभइरहेकाले अब उपरान्त कुनै समस्या वा उजुरी परेमा नियमानुसार कारबाही गरिने निर्णय समेत भएको  प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।
आज देशभर ५ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ६ सय जना सङ्क्रमण मुक्त
आज देशभर ५ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १ सय १० वटा पिसिआर परीक्षण गर्दा ३ सय ७ पुरुष २ सय ४ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाखा ६० हजार ५९ पुगेको छ ।
आज थप ६ सय जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
हालसम्म सङ्क्रमण मुक्त हुनेको दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।
देशभर रहेका ६ हजार ३ सय सक्रिय सङ्क्रमित मध्ये २ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका २ सय १७ जनाको आइसियु र ३७ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ४७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button